Menu

२ इतिहास 4

ULB

1 यसको साथै तिनले काँसाको एउटा वेदी बनाए । जसको लमाइ बीस हात, र चौडाइ बीस हात थियो । यसको उचाइ दश हात थियो ।

2 तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्‌कुँलो पनि बनाए । त्‍यसको बिटको एक किनारदेखि अर्को किनारसम्‍म दश हात थियो । त्‍यो पाँच हात अल्‍गो थियो, र त्‍यस खड्‌कुँलोको परिधि तीस हात थियो ।

3 खड्‌कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढेहरू, एक हातमा दश वटा त्यसलाई खड्‌कुँलोसँगै एउटै टुक्रा धातु ढालेर बनाइएको थियो ।

4 ‘समुद्र’ नाम दिइएको त्‍यो ठुलो खड्‌कुँलोलाई बाह्र वटा साँढेमाथि राखिएको थियो, जसमा तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्‍चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । त्‍यो “खड्‌कुँलो” तिनैमाथि बसालिएको थियो, र तिनीहरूका पछाडिका भागचाहिं भित्रपट्टि फर्केका थिए ।

5 त्‍यसको मोटाइ चार अङ्‍गुल थियो, र त्‍यसको बिट कचौराको बिटजस्‍तो फक्रेको लिली फूलजस्‍तै थियो । त्‍यो खड्‌कुँलोमा छयसट्ठी हजार लिटर पानी अटाउँथ्‍यो ।

6 तिनले सामानहरू धुनको निम्ति दश वटा बाटाहरू पनि बनाए । तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे । होमबलिमा प्रयोग गरिने सबै सामानहरू यिनैमा धोइन्थ्यो । ‘समुद्र’ नामको त्यो खड्‌कुँलोलाई पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे ।

7 दिइएको ढाँचाबमोजिम तिनले दश वटा सुनका सामदान बनाए । ती तिनले मन्‍दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे ।

8 तिनले दश वटा टेबल बनाएर मन्‍दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे । तिनले सुनका एक सय वटा बाटा बनाए ।

9 यसको साथै तिनले पुजारीहरूका चोक, र ठूलो चोक र चोकका ढोकाहरू बनाए र तिनका ढोकाहरूमा काँसाका जलप लगाए ।

10 ‘समुद्र’ नामक त्‍यो विशाल खड्‌कुँलोलाइ तिनले मन्दिरको पूर्वपट्टि दक्षिणतर्फ फर्काएर राखे ।

11 हुरामले भाँडा, बेल्‍चा र छर्कने बाटाहरू बनाए । यसरी हुरामले परमेश्‍वरको मन्‍दिरमा सोलोमन राजाको निम्‍ति आफूले जिम्‍मा लिएको काम सिद्ध्याएः

12 दुई वटा स्‍तम्‍भ, ती स्‍तम्‍भका टुप्‍पामा कचौराको आकारका दुई स्‍तम्‍भ-शिर थिए । तिनले स्‍तम्‍भमाथि स्‍तम्‍भ-शिर सजाउने दुई वटा बुट्टादार र जालीहरू बनाए ।

13 दुई जालीहरूका निम्‍ति चार सय दारिम तिनले बनाएः स्‍तम्‍भहरूका कचौराको आकार भएका स्‍तम्‍भ-शिरलाई ढाक्‍ने प्रत्‍येक जालीको निम्‍ति तिनले दुई लहर दारिमहरू पनि बनाए ।

14 तिनले गुड्‍ने आधारहरू र तिनमा राख्‍नलाई बाटाहरू पनि बनाए ।

15 एउटा विशाल खँड्कुलो र यसको मुन्तिर बाह्र वटा साँढे,

16 साथै भाँडाहरू, बेल्‍चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्‍बन्‍धित सामानहरू पनि बनाए, र हुराम-अब्‍बीले परमेश्‍वरका मन्‍दिरको निम्‍ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्‍काइएका काँसाका थिए ।

17 राजाले ती यर्दनको मैदानमा सुक्‍कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेका थिए ।

18 यसरी सोलोमनले यी सबै भाँडा धेरै संख्‍यामा बनाए । वास्तवमा काँसाका तौल कति थियो भन्‍ने थाहै भएन ।

19 सोलोमनले परमेश्‍वरको मन्‍दिरका सबै सजाउने सामग्रीहरू समेत, सुनको वेदी पनि, र उपस्‍थितिको रोटी राखिने टेबलहरू बनाए ।

20 सामदानहरू तिनमा बत्तीसहितका, जसलाई भित्री पवित्रस्‍थानमा बाल्नलाई निखुर सुनले बनाइएका थिए ।

21 र फूलहरू, बत्तीहरू र असल सुनका चिम्‍टाहरू पनि निखुर सुनले बनाइएका थिए ।

22 सलेदाका चिम्‍टाहरू, बाटाहरू, चम्‍चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मन्‍दिरको मुख्‍य ढोकाहरू सुनले बनाइएका थिए ।

Everything we make is available for free because of a generous community of supporters.

Donate