Menu

२ कोरिन्थी 10

ULB

1 म पावल आफैँ तिमीहरूलाई येशू ख्रीष्‍टको नम्रता र विनम्रतामा आग्रह गर्दछु । म तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु, तर जब म टाढा हुन्छु, तब म तिमीहरूप्रति साहसी हुन्छु ।

2 म तिमीहरूसँग बिन्‍ती गर्दछु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्म-विश्‍वासका साथ साहसी हुन आवश्यक पर्नेछैन । तर मेरो विचारमा हामी शरीरअनुसार बाँचिरहेका छौँ भनी ठान्‍नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ ।

3 हामी शरीरमा हिँडे तापनि हामी शरीरअनुसार युद्ध लड्दैनौँ ।

4 हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्‍ट गर्न सक्‍ने ईश्‍वरीय शक्‍ति छ । तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन् ।

5 हामी पनि परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्‍च कुरालाई नष्‍ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं ।

6 तिमीहरूको आज्ञाकारिता पुरा हुनासाथ हामी हरेक अनाज्ञाकारिताका कामहरूलाई दण्ड दिन तयार हुँदै छौँ ।

7 जे कुरा तिमीहरूको अगाडि स्पष्‍ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्‍टको हो भन्‍ने कुरामा विश्‍वस्त छ भने, ऊ ख्रीष्‍टको भए जस्तैहामी पनि ख्रीष्‍टका हौँ भन्‍ने कुरा आफैँलाई याद दिलाओस् ।

8 किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्‍जित हुनेछैन ।

9 मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदै छु भन्‍ने देखाउन चाहन्‍नँ ।

10 तर केही मानिसहरू भन्छन्, “त्यसका पत्रहरू गम्भीर र शक्‍तिशाली छन्, तर त्यो शारीरिक रूपमा कमजोर छ । त्यसका वचनहरू सुन्‍न योग्यका छैनन् ।”

11 त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ ।

12 हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्‍टि हुँदैन ।

13 तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्नेछैनौँ । बरु, परमेश्‍वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौँ, जुन सीमा तिमीहरूसम्म पुग्दछ ।

14 किनकि तिमीहरूकहाँ आउँदा हामीले आफैँलाई बढी ठानेनौँ । सुसमाचार लिएर तिमीहरूकहाँ पहिलो पटक आउने हामी नै थियौँ ।

15 हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्‍वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ ।

16 हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ ।

17 “तर घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस् ।”

18 किनकि आफ्नो सिफारिस आफैँ गर्ने मानिसलाई स्वीकार गरिँदैन । बरु, परमप्रभुले सिफारिस गरेको मानिसलाई स्वीकार गरिन्छ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate