Menu

कलस्सी 2

ULB

1 किनकि मैले तिमीहरू अर्थात् लाउडिकियामा भएकाहरू र शरीरमा मेरो अनुहार नदेखेकाहरू सबैका निम्ति गरेको धेरै ठुलो सङ्घर्षबारे तिमीहरूले जानेको म चाहन्छु ।

2 प्रेम र समझको पूर्ण निश्‍चयताको प्रशस्ततामा र परमेश्‍वरको गुप्‍त सत्यताको ज्ञान अर्थात् ख्रीष्‍टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर म काम गर्दछु ।

3 ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन् ।

4 म यो भन्छु, कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस् ।

5 र म तिमीहरूसँग शरीरमा नभए तापनि, म तिमीहरूसँग आत्मामा छु । म तिमीहरूका सुव्यवस्था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्दित हुन्छु ।

6 तिमीहरूले येशू ख्रीष्‍टलाई जुन प्रकारले प्राप्‍त गर्‍यौ, सोही प्रकारले उहाँमा हिँड ।

7 तिमीहरूलाई सिकाइएको जस्तै गरी उहाँमा बलियोसँग जरा गाड, उहाँमा निर्माण हुँदै जाओ, विश्‍वासमा स्थापित होओ, र प्रशस्तसँग धन्यवाद देओ ।

8 तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ ।

9 किनकि उहाँमा परमेश्‍वरको पूर्णता शरीरमा बास गर्दछ ।

10 र तिमीहरू उहाँमा पूर्ण रूपमा भरिएका छौ । उहाँ नै सबै शक्‍ति र अधिकारको शिर हुनुहुन्छ ।

11 उहाँमा नै तिमीहरूको खतना भएको थियो, जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन, तर यो ख्रीष्‍टमा गरिएको थियो ।

12 तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ । र उहाँलाई मृतकहरूबाट ब्युँताउनुहुने परमेश्‍वरको शक्‍तिमाथि विश्‍वासद्वारा तिमीहरू उहाँसँगै ब्युँताइएका थियौ ।

13 र जब तिमीहरू आफ्ना पाप र शरीरको बेखतनामा मरेका थियौ, उहाँले तिमीहरूलाई उहाँसँग जीवित पार्नुभयो र हाम्रा सबै पापहरूलाई क्षमा गर्नुभयो ।

14 उहाँले हाम्रो विरुद्धमा लगाइएका ऋणका लिखित अभियोगहरूलाई र त्यसका विनियमहरूलाई हटाइदिनुभयो । उहाँले यी सबैलाई हटाउनुभयो र क्रुसमा टाँगिदिनुभयो ।

15 उहाँले शक्‍तिहरू र अधिकारवालाहरूलाई हटाउनुभयो । उहाँले तिनीहरूलाई खुल्ला रूपमा प्रकट गर्नुभयो र उहाँको क्रुसको माध्यमद्वारा तिनीहरूलाई विजय समारोहमा डोर्‍याउनुभयो ।

16 यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ ।

17 यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्छ ।

18 नम्रताको चाहना र स्वर्गदूतहरूको आराधनाद्वारा कसैको इनाम नखोसिएको होस् । यस्तो व्यक्‍तिले उसले देखेका कुराहरूमा मन लगाउँछ र उसको शारीरिक विचारद्वारा घमण्डी बन्दछ ।

19 उसले शिरलाई पक्री राख्दैन । शिरबाट नै जोर्नीहरू र ग्रन्थिहरू हुँदै सम्पूर्ण शरीरमा आवश्यक तत्त्वहरू फैलाइन्छ र तिनीहरूलाई एकसाथ राखिन्छ; र शरीर परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्दछ ।

20 यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने, किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ ?

21 “नसमात, नचाख, नछोऊ ।”

22 मानिसहरूका निर्देशनहरू र शिक्षाहरूअनुसार, यी सबै कुराहरू प्रयोगसँगै नष्‍ट हुन्छन् ।

23 यी नियमहरूमा मानिस आफैँले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन् । तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन ।

Everything we make is available for free because of a generous community of supporters.

Donate