Menu

व्यवस्था 20

ULB

1 तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा, रथ र मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो ।

2 तिमीहरू युद्धमा जानै लाग्दा पुजारी नजिक आएर मानिसहरूलाई उसले यसो भन्‍नुपर्छ,

3 'हे इस्राएली हो, सुन । तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ । तिमीहरूका ह्रदय विचलत नहोऊन् । नडराओ, नकाम । तिनीहरूदेखि भयभीत नहोओ ।

4 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।'

5 अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही छ ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस् ।

6 के दाखबारी लगाएर यसको फल खान नपाउने यहाँ कोही छ ? त्यो घरमा जाओस् र युद्धमा मर्नु नपरोस् अनि अर्कोले त्यसलाई उपभोग गर्न नपाओस् ।

7 के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस छ ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र त्यसलाई अर्कोले बिहे गर्न नपाओस् ।'

8 यसबाहेक अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के यहाँ कोही डरपोक र कातर छ ? त्यो फर्केर आफ्नो घरमा जाओस् ताकि त्यसको भाइको हृदय त्यसको झैँ शिथिल नहोस् ।'

9 अधिकारीहरूले मानिसहरूसित बोलिसकेपछि तिनीहरूले उनीहरूमाथि सेनानायकहरू नियुक्त गरून् ।

10 कुनै सहरलाई आक्रमण गर्न तिमीहरू नजिक पुग्दा ती मानिसहरूसित शान्तिको प्रस्ताव राख्‍नू ।

11 तिनीहरूले तिमीहरूको प्रस्तावलाई स्वीकार गरी तिमीहरूलाई सहरमा स्वागत गरे भने त्यस सहरमा भएका सबै मानिसलाई बेगार काममा लगाउनू र तिनीहरूले तिमीहरूको सेवा गरून् ।

12 तर तिनीहरूले तिमीहरूसित कुनै शान्ति सम्झौता गर्नुको साटो तिमीहरूको विरुद्धमा युद्ध गर्न आए भने तब तिमीहरूले सहरलाई घेरा हाल्नू,

13 र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिमीहरूको नियन्त्रणमा ल्याउनुहुँदा तिमीहरूले त्यस सहरको हरेक व्यक्तिलाई मार्नू ।

14 तर स्‍त्री, बालबच्‍चा, गाईवस्तु र सहरमा भएका हरेक थोक लुटको मालको रूपमा आफ्नो लागि लैजानू । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट दिनुभएको लुटको माल तिमीहरूले उपभोग गर्नू ।

15 तिमीहरूबाट टाढा भएका सबै सहरलाई मात्र तिमीहरूले यसो गर्नू, तिमीहरूले यी जातिहरूका सहरहरूलाई भने त्यसो नगर्नू ।

16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्‍नू ।

17 बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू ।

18 तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू तिनीहरूले तिमीहरूलाई नसिकाऊन् भन्‍नाका लागि यसो गर्नू । तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका विरुद्धमा पाप गर्ने छौ ।

19 कुनै सहरलाई कब्जा गर्न तिमीहरूले त्यसलाई लामो समयसम्म घेर्दा तिमीहरूले बञ्चरोले यसका रुखहरू नकाट्नू । किनकि तिमीहरूले तीबाट खान सक्छौ । त्यसैले, तिनलाई नकाट । किनकि के जङ्गलका रुखहरू जाति हुन् जसलाई तिमीहरू घेरा हाल्छौ ?

20 फल दिने रुखहरू होइनन् भनी तिमीहरूले चिनेका रुखहरूलाई मात्र तिमीहरूले काटेर नष्‍ट गर्नू । तिमीहरूसित युद्ध गर्ने सहर पराजित नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate