Menu

प्रस्थान 25

ULB

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “राजीखुसीबाट प्रेरित भई हरेक व्यक्तिले मेरो लागि भेटी ल्याओस् भनी इस्राएलीहरूलाई भन् । तैँले यी भेटीहरू मेरो लागि ग्रहण गर्नुपर्छ ।

3 तैँले तिनीहरूबाट प्राप्‍त गर्नुपर्ने भेटीहरू यिनै हुन्: सुन, चाँदी, र काँसा

4 निलो, बैजनी र रातो ऊन, मलमलको कपडा, बाख्राको भुत्ला

5 रातो रङले रङ्गाएका भेडाका छाला र सीलका छालाहरू, बबुल काठ,

6 पवित्रस्थानका बत्तीहरूका निम्ति तेल, अभिषेक गर्नका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पातामा जड्नका लागि

7 आनिक्स र अन्य बहुमूल्य रत्‍नहरू ।

8 म तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूले मेरो निम्ति एउटा पवित्रस्थान बनाऊन् ।

9 मैले तँलाई देखाउने नमुनामुताबिक तैँले पवित्र वासस्थान र यसका सबै सामानहरू बनाउनू ।

10 तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् ।

11 यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू ।

12 एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू ।

13 तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू ।

14 सन्दुकलाई बोक्‍नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू ।

15 डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन ।

16 तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू ।

17 तैँले निखुर सुनको एउटा प्रायश्‍चित्तको ढकनी बनाउनू । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस् ।

18 तैँले प्रायश्‍चित्तको ढकनीको दुई किनारामा राख्‍न पिटिएको सुनका दुईवटा करूब बनाउनू ।

19 प्रायश्‍चित्तको ढकनीको एउटा किनारामा एउटा करूब र अर्को किनारामा अर्को करूब राख्‍नू । ती दुईवटा करूब र प्रायश्‍चित्तको ढकनी एउटै सुनको टुक्राबाट बनाइयोस् ।

20 करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्‍चित्तको ढकनीलाई छाया पारून् । करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरून् ।

21 तैँले प्रायश्‍चित्तको ढकनीलाई सन्दुकको माथिपट्टि राख्‍नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्दुकभित्र राख्‍नू ।

22 यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्‍चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।

23 तैँले बबुल काठको एउटा टेबुल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् ।

24 तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू ।

25 त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू ।

26 टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू ।

27 टेबुललाई बोक्‍नलाई डन्डाहरूका लागि ठाउँ हुन ती मुन्द्राहरू घेरोको छेउमा होऊन् ।

28 टेबुललाई तीसँगै बोक्‍न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र

29 तिनलाई सुनले मोहर्नू अर्घबलिहरू चढाउन प्रयोग हुने थाल, चम्चा, करुवा र कचौराहरू बनाउनू । तैँले ती सबै निखुर सुनको बनाउनू ।

30 तैँले टेबुलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्‍नू ।

31 पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू । आधार र बिँडसहित यसलाई बनाउनू । यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ ।

32 यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी जम्मा छवटा हाँगा बाहिरतिर निस्केका होऊन् ।

33 पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । त्यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । सामदानबाट बाहिर निस्कने सबै छवटा हाँगामा उस्तै होऊन् ।

34 सामदान र बिचको बिँडमा हाडेबदामका फुलजस्ता चारवटा कचौरा आ-आफ्नै कोपिला र फूलसमेत होऊन् ।

35 एउटै टुक्राको रूपमा पहिलो जोडी हाँगामुनि एउटा कोपिला र एउटै टुक्राको रूपमा दोस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । त्यसै गरी, एउटै टुक्राको रूपमा तेस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । सामदानबाट बाहिर निस्केका सबै छवटै हाँगा उस्तै होस् ।

36 तिनीहरूका कोपिला र हाँगाहरू सबै पिटेको निखुर सुनको एउटा टुक्राबाट बनेका होऊन् ।

37 तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्‍नू ।

38 चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ ।

39 सामदान र यसका सबै पात्र बनाउन करिब चौँतिस किलोग्राम निखुर सुनको प्रयोग गर्नू ।

40 तँलाई पर्वतमा देखाएको नमुनाबमोजिम ती बनाउन नभुल्नू ।

Everything we make is available for free because of a generous community of supporters.

Donate