Menu

गलाती 6

ULB

1 भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्‍तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्‍तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।

2 एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्‍टको व्यवस्थालाई पुरा गर्नेछौ ।

3 किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने, त्यसले आफैँलाई धोका दिन्छ ।

4 हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ । तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैँसँग गर्व गर्ने केही कारण हुन्छ ।

5 किनकि हरेकले आफ्नो भार आफैँ उठाउनेछ ।

6 जसलाई वचन सिकाइएको छ, उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ ।

7 धोकामा नपर । परमेश्‍वरको ठट्टा हुँदैन । मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ ।

8 किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।

9 हामी असल काम गर्न थकित नहोऔँ, किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौँ ।

10 त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्‍वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।

11 हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु ।

12 शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन् । ख्रीष्‍टको क्रुसको खातिर सतावट भोग्‍नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन् ।

13 किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।

14 हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।

15 किनकि न त खतना न बेखतना कुनै मूल्यको हो । बरु, नयाँ सृष्‍टि महत्त्‍वपूर्ण छ ।

16 यही नियमअनुसार जिउने सबैमा अनि परमेश्‍वरको इस्राएलमा शान्ति र कृपा रहोस् ।

17 अब उप्रान्त मलाई कसैले दु:ख नदेओस्, किनकि म आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्दछु ।

18 भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस् । आमेन ।

Everything we make is available for free because of a generous community of supporters.

Donate