Menu

होशे 5

ULB

1 “ए पुजारीहरू हो, यो कुरा सुन! ए इस्राएलको घराना, ध्यान देओ! ए राजाको घराना, सुन! किनकि तिमीहरू सबैका विरुद्ध न्‍याय आउँदैछ । तिमीहरू मिस्‍पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ ।

2 विद्रोहीहरू मारकाटमा साह्रै नै संलग्‍न हुन्‍छन्, तर म तिनीहरू सबैलाई दण्ड दिनेछु ।

3 एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्‍दछु । ए एफ्राइम, तँ अब वेश्‍याझैं भएको छस् । इस्राएल अपवित्र पारिएको छ ।

4 तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कन दिंदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन् ।

5 इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ । यसैले इस्राएल र एफ्राइम आफ्‍नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ ।

6 आफ्ना बगाल र बथानसँग परमप्रभुको खोजी गर्न तिनीहरू जानेछन्, तर तिनीहरूले उहाँलाई भेट्‍टाउने छैनन्, किनकि उहाँले आफैंलाई तिनीहरूबाट टाढा लानुभएको छ ।

7 तिनीहरू परमप्रभुप्रति विश्‍वासघाती भए, किनकि तिनीहरूले अवैधानिक छोराछोरी जन्माएका छन् । अब औंसीका पर्वहरूले तिनीहरूका भूमिसँगै तिनीहरूलाई पनि निलिदिनेछ ।

8 गिबामा तुरही र रामामा बिगुल फुक । बेथ-आवनमा युद्ध-ध्वनि बजाओः ‘ए बेन्यामीन, हामी तेरो पछि लाग्‍छौं!’

9 न्यायको दिनमा एफ्राइम निर्जन हुनेछ । इस्राएलका कुलहरू बिचमा निश्‍चय हुन आउने कुरा मैले घोषणा गरेको छु ।

10 यहूदाका अगुवाहरू त्‍यस्‍ता हुन् जसले सिमानाको ढुङ्गा सार्छ । पानी खन्याएझैं तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्याउनेछु ।

11 एफ्राइम कुल्चिएको छ, त्यो न्यायमा कुल्चिएको छ, किनभने त्यो आफ्नै इच्‍छामा मूर्तिहरूको पछि लागेको छ ।

12 यसैले एफ्राइमको निम्ति म कपडा काट्ने किराझैं हुनेछु र यहूदाको घरानाको निम्ति सडाउने कुराझैं हुनेछु ।

13 जब एफ्राइमले आफ्नो रोग देख्‍यो, र यहूदाले आफ्नो घाउ देख्‍यो, तब एफ्राइम अश्‍शूरमा गयो, र यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो । तर त्यसले तेरा मानिसहरूलाई निको पार्न वा तिमीहरूका घाउ निको पार्न सकेन ।

14 यसैले एफ्राइमको निम्ति म सिंहझैं हुनेछु, र यहूदाको घरानाको निम्ति जवान सिंहझैं हुनेछु । मैले नै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र जानेछु । म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई बचाउने कोही पनि हुनेछैन ।

15 तिनीहरूले आफ्ना दोष स्‍वीकार गरेर मेरो खोजी नगरेसम्म, र आफ्‍ना दु:खको समयमा मलाई तत्परतासाथ नखोजेसम्म, म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate