Menu

यर्मिया 43

ULB

1 परमप्रभु तिनीहरूका परमेश्‍वरले यर्मियालाई भन्‍न दिनुभएका परमप्रभु तिनीहरूका परमेश्‍वरका सबै वचन तिनले सबै मानिसहरूलाई भनेर सिद्ध्याए ।

2 होशयाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसले यर्मियालाई भने, “तिमी झूट बोल्दैछौ । 'मिश्रदेशमा बसोबास गर्न त्‍यहाँ नजाओ' भनेर परमप्रभु हाम्रा परमेश्‍वरले तिमीलाई भन्‍न पठाउनुभएको छैन ।

3 हामीलाई बेबिलोनमा बन्दी बनाएर लैजान र मार्नका लागि कल्दीहरूको हातमा सुम्पिदिन नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा उक्साउँदैछन् ।”

4 त्यसैले कारेहका छोरा योहानान, सेनाका सबै अधिकृत र सबै मानिसले यहूदा देशमा बस्‍नू भन्‍ने परमप्रभुको आज्ञालाई इन्कार गरे ।

5 कारेहका छोरा योहानान र सेनाका सबै कप्‍तानले यहूदमा बाँकी रहेका सबै मानिसलाई लिएर गए, जो छरपष्‍ट भएका सबै जातिकहाँबाट यहूदा देशमा बस्‍न आएका थिए ।

6 तिनीहरूले पुरुषहरू र स्‍त्रीहरू, बालबालिका र राजाका छोरीहरू अनि राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहसित बस्‍न अनुमति दिएका हरेक व्यक्तिलाई लगे । तिनीहरूले यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि लगे ।

7 तिनीहरू मिश्र देशमा, तहपेनसमा गए किनभने तिनीहरूले परमप्रभुको आज्ञा मानेनन् ।

8 त्यसैले तहपेनसमा परमप्रभुको वचन यसो भनेर आयो,

9 “तेरा हातमा केही ठुला-ठुला ढुङ्गाहरू ले, र यहूदाका मानिसहरूको दृष्‍टिमा तहपेनसस्थित फारोको दरबारको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि तिनलाई गाड् ।”

10 त्यसपछि तिनीहरूलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले नबूकदनेसरलाई मेरो सेवकको रूपमा बोलाउन सन्देशवाहकहरू पठाउनै लागेको छु । यर्मियाले गाडेका ती ढुङ्गाहरूमाथि म त्यसको सिंहासन बसाल्नेछु । नबूकदनेसरले तीमाथि आफ्नो मण्डप खडा गर्नेछ ।

11 किनकि ऊ आउनेछ, र मिश्रदेशलाई आक्रमण गर्नेछ । मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्‍युलाई दिइनेछ । निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ । तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ ।

12 त्यसपछि म मिश्रका देवताहरूका मन्दिरहरूमा आगो लगाउनेछु । नबूकदनेसरले तिनलाई जलाउने वा कब्जा गर्नेछ । गोठालाहरूले आफ्ना लुगाबाट उपियाँ निखारेझैं उसले मिश्रदेशलाई रित्तो पार्नेछ ।

13 उसले मिश्र देशको हेलियोपोलिसमा भएका ढुङ्गाका मूर्तिहरू भत्कानेछ । उसले मिश्रका देवताहरूका मन्दिरहरू जलानेछ ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate