Menu

यूहन्‍ना 4

ULB

1 अब जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो,

2 (यद्यपि येशू आफैँले बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिँदै थिए)

3 उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो ।

4 तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो ।

5 त्‍यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।

6 त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्‍नुभयो र इनारको छेउमा बस्‍नुभयो । यो छैठौँ घडीतिरको कुरा थियो ।

7 एक जना सामरी स्‍त्री पानी लिन आइन् र येशूले तिनलाई भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।”

8 किनभने उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए ।

9 त्‍यसपछि सामरी स्‍त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍त्रीसँग कसरी पिउने कुरा माग्‍नुभएको ?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन् ।

10 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”

11 स्‍त्रीले उहाँलाई जवाफ दिइन्, “महाशय, तपाईंसित बाल्‍टिन छैन; इनार पनि गहिरो छ । अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त ?

12 के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो र उहाँ आफैँले पनि यही इनारबाट पानी पिउनुभयो र उहाँका सन्‍तानहरू र उहाँका गाईवस्‍तुहरूले पनि पिए ?”

13 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “हरेक जस‍ले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ,

14 तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसको अन्‍तस्‍करणमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको मूल बन्‍नेछ ।”

15 स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म फेरि तिर्खाउनेछैन र यहाँ पानी लिन आउनुपर्नेछैन ।”

16 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ आऊ ।”

17 स्‍त्रीले उहाँलाई जवाफ दिइन् र भनिन्, “मेरो लोग्‍ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्‍ने छैन’ भनी तिमीले साँचो भनेकी छ्यौ ।

18 किनकि तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन् र अहिले भएको पनि तिम्रो लोग्‍ने होइन । तिमीले भनेकी कुरो साँचो हो ।”

19 स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईं अगमवक्‍ता हुनुहुन्छ भनी म देख्‍छु ।

20 हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ ।”

21 येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, मलाई विश्‍वास गर । समय आइरहेको छ, तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ ।

22 तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौँ, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ ।

23 तापनि, साँचा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्‍ता मानिसहरूको खोजी गर्दै हुनुहुन्‍छ ।

24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।”

25 स्‍त्रीले उहाँलाई भनिन्, “(ख्रीष्‍ट भनिने) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्‍छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।”

26 येशूले त्यसलाई भन्‍नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही नै हुँ ।”

27 त्‍यही बेला उहाँका चेलाहरू आइपुगे । उहाँ स्‍त्रीसित किन कुराकानी गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्‍छ ?” वा “किन तपाईं त्‍यससँग कुराकानी गर्दै हुनुहुन्‍छ ?” भनी कसैले पनि भनेन ।

28 त्‍यसैले, ती स्‍त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्,

29 “आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्‍ट हुन सक्छ, हुन सक्दैन त ?”

30 तिनीहरू सहरबाट उहाँकहाँ आए ।

31 त्‍यसै बेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस् ।”

32 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”

33 त्‍यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र ?”

34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।

35 अझ पनि चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्‍दैनौ ? म तिमीहरूलाई भन्‍दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन् ।

36 जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।

37 किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्‍ने यो भनाइ यसैमा साँचो छ ।

38 तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ । अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ ।”

39 “मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी स्‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे ।

40 त्यसैले, जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उनीहरूसँग बस्‍न आग्रह गरे र उहाँ त्‍यहाँ दुई दिन बस्‍नुभयो ।

41 उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्‍वास गरे ।

42 तिनीहरूले ती स्‍त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्‍वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ ।”

43 दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो ।

44 किनकि येशू आफैँले घोषणा गर्नुभयो, कि अगमवक्‍तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन ।

45 जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।

46 अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो । त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए ।

47 जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे ।

48 तब येशूले तिनलाई भन्‍नुभयो, “चिह्न‍हरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ ।”

49 ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।”

50 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन तिनले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे ।

51 तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे ।

52 यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्‍वरोले छोड्यो ।”

53 त्‍यसपछि यो येशूले “तिम्रो छोरा बाँच्‍छ” भन्‍नुभएको घडी थियो भन्‍ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे ।

54 येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न‍ थियो ।

Everything we make is available for free because of a generous community of supporters.

Donate