Menu

अय्यूब 1

ULB

1 ऊज भन्‍ने देशमा एक जना मानिस थिए जसको नाउँ अय्यूब थियो । अनि अय्यूब दोषरहित र सोझा थिए जो परमेश्‍वरको भय मान्थे, र खराबीबाट फर्कन्‍थे ।

2 तिनका सात जना छोरा र तीन जना छोरी जन्‍मिएका थिए ।

3 तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए । तिनी पूर्वमा भएका सबै मानिसहरूमध्‍ये सबभन्‍दा महान् मानिस थिए ।

4 हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्‍थे । तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे र सँगै खाने र पिउने गर्थे ।

5 जब भोजका दिनहरू समाप्‍त हुन्‍थे, तब अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र तिनले तिनीहरूलाई शुद्ध पार्थे । तिनी बिहान सबेरै उठ्थे, र आफ्ना हरेक छोराछोरीका लागि होमबलिहरू चढाउँथे, किनकि तिनले यसो भन्थे, “मेरा छोराछोरीले पाप गरेका अनि आ-आफ्ना हृदयमा परमेश्‍वरलाई सरापेका हुन सक्छन् ।” अय्यूबले सधैं यसै गर्थै ।

6 तब एक दिन परमेश्‍वरका छोराहरू परमप्रभुको सामु उपस्थित हुन आए । शैतान पनि तिनीहरूसँगै आयो ।

7 परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आइस् ?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “पृथ्वीमा घुमेर, त्‍यसमा यता र उता गएर आएको हुँ ।”

8 परमप्रभुले त्यसलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस् ? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्‍वरको भय मान्छ र खराबीबाट अलग बस्छ ।”

9 तब शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “के अय्यूबले विनाकारण परमेश्‍वरको भय मान्छन् र ?

10 के तिनी, तिनको घर र तिनीसित भएका सबै थोकको चारैतिर हरेक कुनाबाट बार लगाएर तपाईंले सुरक्षा दिनुभएको छैन र ? तपाईंले तिनका हातका कामहरूलाई आशिष् दिनुभएको छ, र तिनका गाईवस्तुहरू देशभरि भएका छन् ।

11 तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन् ।”

12 परमप्रभुले शैतानलाई भन्‍नुभयो, “हेर्, त्‍योसित भएका सबै थोक तेरै हातमा छ । त्‍यसलाई मात्र तेरो हातले नछो ।” तब परमप्रभुको उपस्थितिबाट शैतान तुरुन्‍तै गयो ।

13 कुनै एक दिनमा यस्‍तो भयो, तिनका छोराहरू र छोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खाँदै र पिउँदै थिए ।

14 एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्‍ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए ।

15 तब शबीहरूले तिनीहरूलाई झम्‍टे र ती लिएर गए । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”

16 जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “आकाशबाट परमेश्‍वरको आगो झर्‍यो अनि भेडाहरू र नोकरहरूलाई भस्म पार्‍यो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”

17 जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “कल्दीहरूले तिनवटा समूह बनाएर ऊँटहरूलाई आक्रमण गरे र ती लिएर गएका छन् । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”

18 जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्‍नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए ।

19 उजाड-स्थानबाट एउटा प्रचण्ड आँधी आयो र घरका चारै कुनालाई प्रहार गर्‍यो । ती युवायुवतीमाथि त्‍यो ढल्यो, र तिनीहरूको मृत्‍यु भयो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”

20 तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे ।

21 तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्‍यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”

22 यी सबै कुरामा अय्यूबले पाप गरेनन्, न त तिनले परमेश्‍वरलाई गलत गरेको भनेर दोष लगाए ।

Everything we make is available for free because of a generous community of supporters.

Donate