Menu

अय्यूब 14

ULB

1 स्‍त्रीबाट जन्मेको मानिस थोरै दिन बाँच्‍छ, अनि दुखैदुखले भरिएको हुन्छ ।

2 ऊ फुलझैं जमिनबाट उम्रिन्‍छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।

3 के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ ?

4 अशुद्ध कुराबाट कसले शुद्ध कुरा ल्याउन सक्छ र ? कसैले सक्दैन ।

5 मानिसको दिनहरू निर्धारित छन् । उसका महिनाहरूका सङ्ख्या तपाईंसितै छन् । तपाईंले उसका सिमाहरू तोक्‍नुभएको छ, जसलाई उसले नाघ्न सक्दैन ।

6 ऊबाट आफ्नो दृष्‍टि हटाउनुहोस्, यसैले कि उसले विश्राम पाओस्, यसरी उसले सक्‍छ भने, ज्यालाको मानिस झैं आफ्नो दिनमा रमाउन सकोस् ।

7 एउटा रुखको लागि आशा हुन सक्छ । त्‍यो काटियो भने, त्‍यो फेरि पलाउन सक्‍छ, जसको कारणले त्‍यसका कोमल पालुवा लोप हुँदैनन् ।

8 त्‍यसको जरा जमिनभित्र बुढो हुन्‍छ, त्‍यसको फेद जमिनमा मर्छ,

9 तापनि त्‍यसले पानीको ओस मात्र पायो भने, त्यो फेरि पलाउँछ, र रुखले झैं हाँगाहरू फिंजाउँछ ।

10 तर मानिसचाहिं मर्छ । त्यो कमजोर हुन्छ । वास्तवमा मानिसले सास फेर्न छोड्छ र फेरि ऊ कहाँ हुन्छ ?

11 जसरी एउटा तलाउबाट पानी लोप हुन्छ, र जसरी नदीको पानी घट्छ र सुक्छ,

12 त्यसरी नै मानिसहरू ढल्‍किन्छन्, र फेरि उठ्दैनन् । आकाशहरू लोप नभएसम्म तिनीहरू ब्युँझने छैनन्, न त तिनीहरू आफ्‍ना निद्राबाट उठ्नेछन् ।

13 दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।

14 एक जना मानिस मर्‍यो भने, के ऊ फेरि बाँच्‍नेछ र ? त्यसो हो भने, मेरो छुटकारा नआएसम्म, मेरा सबै दुखको समयमा म त्‍यहाँ पर्खेर बिताउन चाहान्‍छु ।

15 तपाईंले मलाई बोलाउनुहुन्‍छ, र म जवाफ दिन्‍छु । आफ्‍नो हातको कामको लागि तपाईंको इच्छा हुन्‍छ ।

16 तपाईंले मेरा पाइला गन्‍नुहुन्‍छ, र वास्ता गर्नुहुन्‍छ । तपाईंले मेरो पापको लेखा राख्‍नुहुन्‍न ।

17 मेरो अपराध थैलोमा बन्‍द गरिन्‍छ । तपाईंले मेरो अधर्म ढाक्‍नुहुन्‍छ ।

18 तर पहाडहरू खस्‍छन् र कतै पुग्‍दैनन्, चट्टानहरू आफ्नो ठाउँबाट हटेर जान्‍छन्,

19 नदीहरूले ढुङ्गाहरूलाई खियाउँछन्, तिनीहरूमा भएको बाढीले जमिनको धूलो बगाउँछन्। त्‍यसरी नै तपाईंले मानिसको आशालाई नाश गर्नुहुन्छ ।

20 तपाईंले सधैं उसलाई हराउनुहुन्छ, र ऊ मर्छ । तपाईंले उसको अनुहारको बद्लनुहुन्छ, र उसलाई मर्न दिनुहुन्छ ।

21 उसका छोराहरूको आदर भयो कि भएन भनेर उसलाई जान्‍दैन । र तिनीहरू होच्याइएका छन् कि छैन् उसले त्‍यो देख्दैन ।

22 उसले आफ्नो शरीरको दुखलाई अनुभव गर्छ, र उसले आफ्नै निम्‍ति शोक गर्छ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate