Menu

अय्यूब 21

ULB

1 तब अय्यूबले जवाफ दिए र भने,

2 “मेरा वचनलाई ध्यान दिएर सुन्‍नुहोस्, र यो तपाईंहरूले मलाई दिने सान्त्वना होस् ।

3 मलाई सुन्‍नुहोस्, र म पनि बोल्नेछु । मैले बोलेर सकेपछि निरन्‍तर गिल्ला गर्नुहोस् ।

4 मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र ? म किन अधैर्य नहुनू ?

5 मलाई हेर्नुहोस् र छक्‍क पर्नुहोस्, र आफ्नो हातले आफ्‍नो मुख छुनुहोस् ।

6 मैले आफ्‍नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ ।

7 दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र सामर्थ्‍यमा शक्तिशाली हुन्छन् ?

8 तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन्, र तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन् ।

9 तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्‍छन् । न त परमेश्‍वरको छडी नै तिनीहरूमाथि परेको हुन्‍छ ।

10 तिनीहरूका बहर मिसिन्छन् । त्‍यसो गर्न चुक्‍दैनन् । तिनीहरूको गाई बियाउँछ, र तुहिंदैन ।

11 तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन् ।

12 तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन् ।

13 तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्‍त बएर तल चिहानमा जान्छन् ।

14 तिनीहरूले परमेश्‍वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं ।

15 सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नू ? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं र ?'

16 हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्‍नै हातमा छैन र ? दुष्‍ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन ।

17 कतिपल्‍ट दुष्‍ट मानिसहरूको बत्ती निभाइन्‍छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ ? परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्‍ट दुःख पठाउनुहुन्‍छ ?

18 कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन् ?

19 तपाईंहरू भन्‍नुहुन्छ, 'मानिसको दोषको दण्‍ड परमेश्‍वरले उसका छोराछोरीलाई दिनुहुन्छ ।' त्‍यो उसैले भोग्‍नुपरोस्, जसले गर्दा उसले आफ्नो दोष थाहा पाओस् ।

20 उसका आँखाले उसको आफ्नो विनाश देखून्, र सर्वशक्तिमान्‌को क्रोध उसले पिउनुपरोस् ।

21 किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र ?

22 परमेश्‍वरले त उच्‍चमा हुनेहरूको पनि न्याय गर्नुहुन्‍छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र ?

23 एक जना मानिस पूरा बलियो अवस्‍थामा, बिलकुल शान्ति र चैनमा मर्छ ।

24 उसको शरीर ह्रष्‍टपुष्‍ट हुन्छ, र उसको हड्‍डीहरूको मासी ताजा हुन्छ ।

25 अर्को मानिस मनको तिक्‍ततामा नै मर्छ, जसले कुनै असल कुराको अनुभव कदापि गरेको छैन ।

26 तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् । तिनीहरू दुवैलाई किराहरूले ढाक्छन् ।

27 हेर्नुहोस्, तपाईंहरूका विचार, अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू म जान्‍दछु ।

28 किनकि तपाईंहरू भन्‍नुहुन्छ, 'अहिले त्‍यो राजकुमारको घर कहाँ छ ? दुष्‍ट मानिस कुनै समयमा बस्‍ने गरेको पाल कहाँ छ ?'

29 यात्रा गर्ने मानिसहरूलाई तपाईंहरूले कहिल्यै सोध्‍नुभएको छैन ? तिनीहरूले भन्‍ने प्रमाण तपाईंहरूलाई थाहा छैन,

30 कि दुष्‍ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्‍छ ?

31 दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र ? उसको गरेको कामको बदला कसले लिन सक्‍छ र ?

32 तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।

33 मैदानको माटोका डल्ला उसलाई गुलियो हुनेछ । अनगिन्ती मानिस उसको अगि-अगि हुनाले, सबै मानिस उसको पछिपछि जानेछन् ।

34 तपाईंहरूका व्यर्थका कुराले मलाई कसरी सान्त्वना दिन्‍छ, किनकि तपाईंहरूको जवाफमा झुटबाहेक केही छैन ?”

Everything we make is available for free because of a generous community of supporters.

Donate