Menu

अय्यूब 27

ULB

1 अय्यूबले फेरि बोल्न थाले अनि यसो भने,

2 “परमप्रभु जीवित हुनुभएझैं, जसले मेरो न्याय हटाउनुभएको छ, सर्वशक्तिमान्‌ जसले मेरो जीवन तितो बनाउनुभएको छ ।

3 जबसम्‍म मेरो जीवन ममा रहन्‍छ, अनि परमेश्‍वरको सास मेरो नाकमा रहन्‍छ, तबसम्‍म म यही कुरा गर्नेछु ।

4 मेरो ओठले दुष्‍ट कुरा बोल्नेछैन, न त मेरो जिब्रोले छलको कुरा बोल्नेछ ।

5 तपाईंहरू तिन जनाले ठिक बोल्‍नुहुन्‍छ भनी म कदापि स्वीकार गर्दिन । मेरो मृत्‍यु नभएसम्म म आफ्‍नो निष्ठालाई कदापि इन्कार गर्ने छैनँ ।

6 म आफ्‍नो धार्मिकतालाई बलियो गरी समाउँछु, र त्‍यसलाई जान दिन्‍नँ । म बाँचुञ्जेलसम्म मेरा विचारहरूले मलाई निन्‍दित पार्नेछैनन् ।

7 मेरो शत्रु एक जना दुष्‍ट मानिसझैं होस् । जो मेरो विरुद्धमा खडा हुन्‍छ, ऊ एक जना अधर्मी मानिसझैं होस् ।

8 किनकि परमेश्‍वरले ईश्‍वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्‍वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र ?

9 उसमाथि सङ्कष्‍ट आइपर्दा, के परमेश्‍वरले उसको पुकारा सुन्‍नुहुन्‍छ र ?

10 के ऊ सर्वशक्तिमान्‌मा आनन्दित हुन्‍छ, अनि उसले हर समयमा परमेश्‍वरलाई पुकारा गर्छ ?

11 म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको बारेमा सिकाउनेछु । म सर्वशक्तिमान्‌का विचारहरूलाई लुकाउनेछैनँ ।

12 हेर्नुहोस्, तपाईंहरू सबैले यो आफैले देख्‍नुभएको छ । तब तपाईंहरूले यी सबै निरर्थक कुरा किन बोल्नुभएको हो त ?

13 दुष्‍ट मानिसले परमेश्‍वरबाट पाउने हिस्सा यही हो । सर्वशक्तिमान्‌बाट अत्याचारीले पाउने आफ्‍नो पैतृक-अंश यही हो ।

14 उसका छोराछोरीको सङ्‍ख्‍या बढ्‍छन् भने, त्‍यो तरवारको निम्‍तो हो । उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन् ।

15 ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्‍ति विलाप गर्नेछैनन् ।

16 दुष्‍ट मानिसले धूलोझैं चाँदीको थुप्रो लगाए पनि, र माटोझैं लुगाफाटा थुपारे पनि,

17 उसले ती लुगाफाटा जम्मा त गर्ला, तर धर्मी मानिसहरूले ती लगाउनेछन्, र निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्‍नो बिचमा बाँड्‍नेछन् ।

18 माकुरोले झैं, एक जना पहरेदारले बनाउने झुप्रोझैं, उसले आफ्‍नो घर बनाउँछ ।

19 ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्‍छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।

20 पानीले झैं त्रासले उसलाई डुबाउनेछ । रातमा एउटा आँधीले उसलाई टाढा पुर्‍याउनेछ ।

21 पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्‍नेछ । त्‍यसले उसलाई आफ्नो बासस्थानबाट पुर्‍याउनेछ ।

22 उसमाथि त्‍यो हुत्तिन्‍छ, र रोकिन्‍न । त्‍यसको पन्जाबाट ऊ भाग्‍न खोज्‍छ ।

23 उसको गिल्‍ला गरेर त्‍यसले आफ्‍नो ताली बजाउँछ । त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate