Menu

अय्यूब 34

ULB

1 अझै एलीहूले निरन्‍तर बोले,

2 “हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्‍नुहोस् । हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।

3 जिब्रोले भोजनको स्वाद लिएझैं, कानले शब्दहरूलाई जाँच्ने कोसिस गर्छ ।

4 जे न्‍यायोचित छ, सो हामी आफ्‍नो निम्‍ति रोजौं । जे असल छ, सो हामी आफ्‍नो बिचमा खोजौं ।

5 किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्‍वरले मेरा अधिकारहरू हटाउनुभएको छ ।

6 मेरा अधिकारहरू भए पनि मलाई झुटो ठानिएको छ । म पापी नभए पनि मेरो घाउ निको हुँदैन ।'

7 अय्यूब कस्ता मानिस हुन्, जसले गिल्लालाई पनि पानीझैं पिउँछन्,

8 जो दुष्‍ट काम गर्नेहरूको सङ्गतमा जान्छन्, र जो दुष्‍ट मानिसहरूसितै हिंड्छन् ।

9 किनकि तिनले भनेका छन्, 'परमेश्‍वरले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।'

10 त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस् । परमेश्‍वरले कदापि दुष्‍ट काम गर्नुहुन्‍न । सर्वशक्तिमान्‌ले कदापि पाप गर्नुहुन्‍न ।

11 किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ ।

12 वास्तवमा परमेश्‍वरले कुनै दुष्‍ट काम गर्नुहुन्‍न, न त सर्वशक्तिमान्‌ले कदापि न्यायलाई बङ्ग्याउनुहुन्छ ।

13 कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र ? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र ?

14 उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्‍नुभएको भए, र उहाँले कहिलै आफ्ना आत्मा र सास आफैमा फर्काउनुभए,

15 तब सारा प्राणी एकसाथ नष्‍ट हुन्‍थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्‍थ्‍यो ।

16 अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्‍नुहोस् । मेरो वचनको आवाजलाई सुन्‍नुहोस् ।

17 के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ ?

18 परमेश्‍वरले राजालाई भन्‍नुहुन्छ, 'तँ निकम्मा होस्' वा कुलीनहरूलाई भन्‍नुहुन्छ, 'तिमीहरू दुष्‍ट हौ ।'

19 परमेश्‍वरले अगुवाहरूको पक्ष लिनुहुन्‍न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्‍न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् ।

20 एकै क्षणमा तिनीहरू मर्नेछन् । मध्यरातमा मानिसहरू हल्लिन्‍छन् र बितेर जान्‍छन् । शक्तिशाली मानिसहरू लगिन्‍छन्, तर मानवीय हातले होइन ।

21 किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।

22 यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् ।

23 किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।

24 उहाँले शक्तिशाली मानिसहरूलाई तिनीहरूका चालको कारणले टुक्रा-टुक्रा पार्नुहुन्छ जसको थप अनुसन्धान आवश्यक नै हुँदैन । उहाँले तिनीहरूका ठाउँमा अरूलाई राख्‍नुहुन्छ ।

25 यसरी तिनीहरूका कामहरूका जानकारी उहाँलाई हुन्‍छ । उहाँले यी मानिसहरूलाई रातमा पल्टाउनुहुन्छ । तिनीहरू नष्‍ट हुन्छन् ।

26 अरूले देख्‍नेगरी खुला ठाउँमा, उहाँले तिनीहरूका दुष्‍ट कामहरूको लागि अपराधीहरूलाई झैं तिनीहरूलाई मार्नुहुन्छ,

27 किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के, र उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे ।

28 यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्‍ने तिनीहरूले बनाए । कष्‍टमा परेका मानिसहरूको रोदन उहाँले सुन्‍नुभयो ।

29 जब उहाँ चुप लाग्‍नुहुन्‍छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र ? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्‍छ भने कसले उहाँलाई भेट्‍न सक्छ र ? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ,

30 जसको कारणले पापी मानिसले शासन गर्न नपाओस्, यसरी मानिसहरूलाई पासोमा पार्ने कोही नहोस् ।

31 मानौँ, कसैले परमेश्‍वरलाई भन्छ, 'म निश्‍चय नै दोषी छु, तर म फेरि पाप गर्नेछैनँ ।

32 मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्‍यो काम म फेरि गर्नेछैनँ ।'

33 तपाईंको विचारमा, परमेश्‍वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्‍दैमा, के परमेश्‍वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ र ? तपाईंले नै चुन्‍ने हो, मैल होइन । त्यसैले आफूले जानेका कुरा भन्‍नुहोस् ।

34 सुझबुझ भएका मानिसहरूले मलाई भन्‍नेछन्— वास्तवमा मेरो कुरा सुन्‍ने हरेक बुद्धिमान् मानिसले भन्‍नेछ,

35 'अय्यूब ज्ञानविनै बोल्छन् । तिनका शब्‍दहरूमा बुद्धिका कुरा छैनन् ।'

36 अय्यूबले दुष्‍ट मानिसहरूले झैं कुरा गरेको हुनाले, तिनको भनेका स-साना कुरा लिएर जाँच गर्न सकिए त!

37 किनकि आफ्नो पापमा तिनले विद्रोह थप्छन् । हाम्रा बिचमा गिल्ला गर्दै तिनी थपडी मार्छन् । तिनी परमेश्‍वरको विरुद्धमा वचनको थुप्रो लगाउँछन् ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate