Menu

अय्यूब 6

ULB

1 तब अय्यूबले जवाफ दिए र भने,

2 “हाय, मेरो वेदना जोखिएको भए, मेरा सबै विपत्ति तराजुमा राखिएको भए,

3 किनकि अहिले त्‍यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो, त्यसकारण मेरा वचन समझहीन छन् ।

4 सर्वशक्तिमान्‌का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्‍वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् ।

5 के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र ? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र ?

6 के स्वाद नभएको खानेकुरालाई नुनविना खान सकिन्छ र ? वा अण्डाको सेतो भागको कुनै स्वाद हुन्छ र ?

7 म तिनलाई छुन पनि इन्कार गर्छु । मेरा लागि ती घृणित खानेकुरा हुन् ।

8 हाय! मैले बिन्ती गरेको कुरा मसित भए ! हाय, मैले चिताएको कुरा परमेश्‍वरले दिनुभए !

9 मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ ! उहाँले आफ्‍नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ !

10 यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।

11 मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो र ? मैले आफ्‍नो जीवनलाई लम्‍ब्‍याउनुपर्ने मेरो अन्त्य के हो ?

12 के मेरो बल ढुङ्गाहरूका बल हो र ? अर्थात् मेरो मासु काँसाबाट बनेको छ ?

13 म आफैलाई मदत गर्न सक्‍दिन भन्‍ने कुरा सत्‍य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र ?

14 मूर्छा खानै लागेको व्यक्तिलाई, त्यसको साथीले विश्‍वसनीयता देखाउनु, उसलाई पनि जसले सर्वशक्तिमान्‌को भयलाई त्याग्‍छ ।

15 तर मरुभूमिको नहरझैं मेरा दाजुभाइ मसित विश्‍वासयोग्य भएका छन्, बगेर कतै पनि नपुग्‍ने पानीको नहरझैं,

16 तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्‍ने हिउँको कारणले अँध्‍यारो भएका छन् ।

17 जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।

18 आफ्नो बाटोमा हिंड्ने यात्रु-दल पानी खोज्‍न पाखा लाग्‍छन् । तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन्, र नष्‍ट हुन्छन् ।

19 तेमाबाट आएका यात्रु-दलले त्‍यहाँ हेरे, जबकि शेबाका सहयात्रीहरूले तिनमा आशा राखे ।

20 तिनमा पानी भेट्टाउने निश्‍चयता भएको हुनाले तिनीहरू निरुत्साही भए । तिनीहरू त्यहाँ गए, तर तिनीहरू धोकामा परे ।

21 किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्‍नुहुन्‍छ र डराउनुहुन्‍छ ।

22 के मैले तपाईंलाई यसो भनें, 'मलाई केही कुरा दिनुहोस् ?' अथवा ‘आफ्‍नो धन-सम्पत्तिबाट मलाई एउटा उपहार दिनुहोस् ?’

23 अथवा ‘मलाई मेरा वैरीको हातबाट बचाउनुहोस् ?' अथवा 'मेरो थिचोमिचो गर्नेहरूको हातबाट मलाई मोल तिरेर छुटाउनुहोस् ?'

24 मलाई सिकाउनुहोस्, र म आफू शान्‍त रहनेछु । मैले कहाँ गल्ती गरें, मलाई प्रष्‍ट पार्नुहोस् ।

25 इमानदार वचन कति पीडादयक हुन्छन्! तर तपाईंका तर्कहरू, कसरी तिनले मलाई साँच्‍चै हप्काउँछन् र ?

26 मेरा वचनलाई बेवास्ता गर्ने योजना गर्नुहुन्‍छ, निराश मानिसका वचनलाई बतासझैं तपाईं गर्नुहुन्‍छ ?

27 वास्तवमा, तपाईं अनाथको लागि चिट्ठा हाल्‍नुहुन्‍छ, र बेच्ने सामनझैं आफ्नो मित्रको मूल्‍य तोक्‍नुहुन्‍छ ।

28 त्यसकारण अब कृपया मलाई हेर्नुहोस्, किनकि म निश्‍चय नै तपाईंको सामु झुट बोल्दिनँ ।

29 मेरो बिन्ती छ, कोमल हुनुहोस् । तपाईंसित कुनै अन्याय नहोस् । वास्तवमै कोमलो हुनुहोस्, किनकि मेरो समस्‍या न्‍यायोचित छ ।

30 के मेरो जिब्रोमा खराबी छ र ? के मेरा मुखले दूर्भावपूर्ण कुराहरू छुट्ट्याउन सक्दैन र ?

Everything we make is available for free because of a generous community of supporters.

Donate