Menu

अय्यूब 8

ULB

1 तब बिल्दाद शुहीले जवाफ दिए र भने,

2 “तपाईं कहिलेसम्म यी कुरा भन्‍नुहुन्छ ? कहिलेसम्म तपाईंको मुखका वचन शक्तिशाली बतास हुनेछन् ?

3 के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र ? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र ?

4 तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरेका छन् । हामी यो जान्‍दछौं, किनकि उहाँले तिनीहरूलाई आफ्‍नै पापमा मर्न दिनुभयो ।

5 तर मानौँ, तपाईंले परमेश्‍वरलाई बडो मेहनत गरेर खोज्नुभयो, अनि आफ्नो बिन्ती सर्वशक्तिमान्‌लाई चढाउनुभयो ।

6 तपाईं शुद्ध र सोझो हुनुहुन्छ भने, उहाँले निश्‍चय पनि तपाईंको पक्ष लिनुहुन्‍छ, र तपाईंको उचित स्थानमा तपाईंलाई पुनर्स्थापित गर्नुहुन्‍छ ।

7 तपाईंको सुरुआत् सानो भए तापनि, तपाईंको आखिरी अवस्था महान् हुन्‍छ ।

8 कृपया पहिलेका पुस्ताहरूलाई सोध्‍नुहोस्, र हाम्रा पुर्खाहरूले सिकेका कुरामा आफ्‍नो ध्यान लगाउनुहोस् ।

9 (हामी हिजो मात्र जन्मियौं र हामी केही जन्‍दैनौं, किनकि पृथ्वीमा हाम्रा दिनहरू छाया मात्र हो ।)

10 के तिनले तपाईंलाई सिकाउने र भन्‍ने छैनन् र ? के तिनले आफ्ना हृदयहरूबाट वचन बोल्ने छैनन् ?

11 के दलदल नभएको ठाउँमा नर्कट उम्रन्छ ? के पानीविना निगालाहरू बढ्छन् ?

12 ती अझै हरिया छँदै र नकाटकै बेलामा, अरू कुनै बिरुवाभन्दा पहिले नै ती सुक्‍छन् ।

13 परमेश्‍वरलाई बिर्सनेहरू सबैका मार्गहरू पनि त्यस्तै हुन्‍छन् । ईश्‍वरहीनको आशा नष्‍ट हुन्‍छन् ।

14 उसको दृढता टुक्राटुक्रा हुनेछन्, र उसको भरोसा माकुरोको जालझैं कमजोर हुन्छ ।

15 ऊ आफ्नो घरमा अडेल लग्‍छ, तर त्‍यसले उसलाई थाम्दैन । उसले त्‍यसमा समात्छ, तर यो अडिंदैन ।

16 घामको मुनि त्‍यो हरियो हुन्छ, र त्‍यसका पालुवाहरू त्‍यसको सारा बगैँचामा फैलिन्‍छ ।

17 त्‍यसका जराहरू ढुङ्गाको थुप्रो वरिपरि बेरिन्छन् । तिनले चट्टानहरूका बिचमा राम्रा ठाउँहरू खोज्छन् ।

18 तर यो व्यक्ति आफ्नो ठाउँ बाहिर नष्‍ट भयो भने, तब त्यो ठाउँले उसलाई इन्कार गर्नेछ र भन्‍नेछ, 'मैले तँलाई कहिल्यै देखिनँ ।'

19 हेर्नुहोस्, त्यस्तो व्यक्तिको व्यवहारको 'आनन्द' यही हो । त्यसको ठाउँमा उही माटोबाट अन्य बिरुवाहरू उम्रनेछन् ।

20 हेर्नुहोस्, परमेश्‍वरले निर्दोष मानिसलाई फाल्‍नुहुन्‍न, न त उहाँले दुष्‍ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ ।

21 तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्‍दको सोरले भर्नुहुनेछ ।

22 तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् । दुष्‍टको पाल फेरि रहनेछैन ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate