Menu

यहोशू 3

ULB

1 यहोशू बिहान सबेरै उठे र तिनीहरू शित्तीमबाट हिँडे । तिनीहरू यर्दनमा आए अनि, तिनी र इस्राएलका सबै मानिसले पारि जानअगि त्यहीँ नै छाउनी हाले ।

2 तिन दिनपछि अधिकृतहरू छाउनीको बिच-बिचतिर गए;

3 तिनीहरूले मानिसहरूलाई आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुक र लेवी कुलका पुजारीहरूले यसलाई बोकिरहेका देख्छौ, तिमीहरूले यो ठाउँलाई छोड्नुपर्छ र यसको पछि-पछि जानुपर्छ ।

4 तिमीहरू र यसको बिचमा एक हजार मिटर फरक हुनुपर्छ । यसको नजिक नआओ, ताकि कुन बाटो जानुपर्ने हो, सो तिमीहरूले देख्‍न सक्‍ने छौ, किनभने तिमीहरू यो बाटोमा यसअगि हिँडेका छैनौ ।”

5 यहोशूले मानिसहरूलाई भने, “भोलिको निम्ति आ-आफूलाई शुद्ध पार, किनभने परमप्रभुले तिमीहरूमाझ अचम्मका कामहरू गर्नुहुने छ ।”

6 योहोशूले पुजारीहरूलाई भने, “करारको सन्दुक लेओ र मानिसहरूको अगिअगि जाओ ।” त्यसैले तिनीहरूले करारको सन्दुक उठाए र मानिसहरूको अगिअगि गए ।

7 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आज म तँलाई इस्राएलका मानिसहरूको नजरमा महान् व्यक्‍ति बनाउने छु । म जसरी मोशासँग थिएँ, त्यसै गरी म तँसँग पनि छु भनी तिनीहरूले जान्‍ने छन् ।

8 तैँले करारको सन्दुक बोक्‍ने पुजारीहरूलाई आज्ञा दिने छस्, 'जब तिमीहरू यर्दनको पानीको छेउमा पुग्छौ, तिमीहरू यर्दन नदीमा नै उभिरहनुपर्छ' ।”

9 अनि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “यहाँ आओ, र परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन सुन ।

10 परमेश्‍वर तिमीहरूमाझ हुनुहुन्छ र कनानीहरू, हित्तीहरू, हिव्वीहरू, परिज्‍जीहरू, गिर्गाशीहरू, एमोरीहरू र यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनु हुनेछ भनी तिमीहरूले थाहा पाउने छौ ।

11 हेर, सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक यर्दन नदीमा तिमीहरूको अगिअगि जाने छ ।

12 अब इस्राएलका हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान ।

13 जब सारा पृथ्वीका प्रभुहरूका परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरूको खुट्टाले यर्दन नदीको पानी छुन्छ यर्दनको पानी रोकिने छ र माथिबाट तल बग्दै गरेको पानी पनि बग्‍न छोड्ने छ र त्यो एक थुप्रो भएर रहने छ ।

14 त्यसैले जब मानिसहरू यर्दन पारि जानलाई हिँडे, पुजारीहरूले करारको सन्दुकलाई बोकेर मानिसहरूको अगिअगि गए ।

15 ती करारको सन्दुक बोक्‍नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ)

16 माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो ।

17 पानी निकै माथिदेखि नै बग्‍न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्‍न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।

Everything we make is available for free because of a generous community of supporters.

Donate