Menu

विलाप 5

ULB

1 हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस् । हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस् ।

2 हाम्रो उत्तराधिकार पराईहरू र हाम्रा घरहरू विदेशीहरूलाई दिइए ।

3 हामी अनाथ, पितृहीन भएका छौँ, र हाम्रा आमाहरू विधवाजस्ता छन् ।

4 हामीले पिउने पानीको लागि र हाम्रै दाउरा किन्‍न हामीले चाँदीको दाम तिर्नुपर्छ ।

5 हामीलाई पछ्याउनेहरू हाम्रो छेउमा छन् । हामी थाकेका छौँ, र हामीलाई चैन छैन ।

6 पर्याप्‍त खानाको लागि हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ ।

7 हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।

8 कमाराहरूले हामीमाथि शासन गर्छन्, र हामीलाई तिनीहरूको हातबाट छुटकारा दिने कोही छैन ।

9 उजाड-स्थानमा भएको तरवारको कारण हाम्रा जीवन जोखिममा पारेर मात्रै हामी रोटी पाउँछौँ ।

10 भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।

11 सियोनमा स्‍त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् ।

12 राजकुमारहरू तिनीहरूका आफ्नै हातद्वारा झुण्ड्याइएका छन्, र धर्म-गुरुहरूलाई कुनै आदर देखाइएको छैन ।

13 युवाहरू जाँतोमा अन्‍न पिँध्‍न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन् ।

14 धर्म-गुरुहरूले सहरको मूल ढोका छोडेका छन्, र युवाहरूले तिनीहरूको सङ्गीत छोडिदिएका छन् ।

15 हाम्रो हृदयको आनन्द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ ।

16 मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्‍कार छ! किनकि हामीले पाप गरेका छौँ ।

17 हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् ।

18 सियोन पर्वत उजाड छ, जहाँ स्यालहरू घुमिहिँड्छन् ।

19 तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।

20 तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्‍नुहुन्छ ?

21 हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ ।

22 तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन, र सम्झनै नसक्‍ने गरी तपाईं हामीसित रिसाउनुभएको छैन भने धेरै पहिले भएजस्तै हाम्रा दिन नवीकरण गरिदिनुहोस् ।

Everything we make is available for free because of a generous community of supporters.

Donate