Menu

लेवीहरू 23

ULB

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “इस्राएलका मानिसहरूलाई भन्, ‘परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, जसलाई तिमीहरूले पवित्र सभाको रूपमा घोषणा गर्नू । यी मेरा नियमित चाडहरू हुन् ।

3 तिमीहरू छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ अर्थात् पवित्र सभा हो । तिमीहरू बसोबास गर्ने कुनै पनि ठाउँमा काम नगर्नू किनभने त्यो परमप्रभुको निम्ति शबाथ हो ।

4 परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, पवित्र सभाहरू जसलाई तिमीहरूले तिनीहरूका तोकिएका समयमा घोषणा गर्नू ।

5 पहिलो महिनाको चौधौँ दिनको साँझ परमप्रभुको निस्तार-चाड हो ।

6 सोही महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति अखमिरी रोटीको चाड हो । सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू ।

7 पहिलो दिनलाई तिमीहरूले भेला हुनको निम्ति छुट्‍ट्याउनू, र त्यस दिन तिमीहरूका कुनै पनि दैनिक काम नगर्नू ।

8 तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति भोजनको भेटी अर्पण गर्ने छौ । सातौँ दिनचाहिँ परमप्रभुको निम्ति अलग गरिएको सभाको दिन हो, र त्यस दिन तिमीहरूले आफ्ना कुनै पनि दैनिक काम नगर्नू’ ।”

9 परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,

10 “इस्राएलका मानिसहरूलाई यसो भन्, ‘मैले तिमीहरूलाई दिन लागेको देशमा तिमीहरू पुगेर त्यहाँ फसलको कटनी गरेपछि तिमीहरूले बालीको पहिलो फलको एक बिटा पुजारीकहाँ ल्याउनू ।

11 त्यसले त्यो बालीको बिटालाई परमप्रभुको अगि डोलाउने छ र तिमीहरूका निम्ति त्यो स्वीकारियोस् भनेर त्यसले त्यो उहाँलाई अर्पण गर्ने छ । शबाथपछिको दिनमा पुजारीले त्यो डोलाएर मलाई अर्पण गर्ने छ ।

12 बालीको बिटालाई डोलाएर मलाई अर्पण गर्ने दिनमा एक वर्षको निष्‍खोट थुमा होमबलिको रूपमा परमप्रभुलाई चढाउनू ।

13 अन्‍नबलिचाहिँ परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति होमबलिको रूपमा तेलसँग मुछिएको एक पाथी मसिनो पिठो होस्, र अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस् ।

14 यो बलि तिमीहरूले आफ्नो परमेश्‍वरकहाँ नल्याउने दिनसम्म तिमीहरूले रोटी, भुटेको अन्‍न वा हरियो अनाज केही नखानू । तिमीहरू बसोबास गर्ने हरेक ठाउँमा तिमीहरूका मानिसहरूको सबै वंशमा यो सदाको निम्ति विधि होस् ।

15 शबाथ दिन अर्थात् डोलाउने बलिको रूपमा तिमीहरूले बालीको बिटा ल्याएको दिनपछि पुरै सात हप्‍ता गन्‍नू ।

16 सातौँ शबाथको पचास दिन तिमीहरूले गन्‍नू । त्यसपछि तिमीहरूले परमप्रभुलाई नयाँ अन्‍नको बलि चढाउनू ।

17 तिमीहरूका घरहरूबाट एक पाथी पिठोबाट बनेका दुईवटा रोटी ल्याउनू । त्यो मसिनो पिठो खमिर राखेर बनाइयोस् । ती परमप्रभुको निम्ति पहिलो फलको डोलाइने बलि हुने छन् ।

18 रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।

19 तिमीहरूले पापबलिको निम्ति एउटा बोका, र मेलबलिको निम्ति एक वर्षे दुईवटा थुमा बलिदानको निम्ति अर्पण गर्नू ।

20 पहिलो फलको रोटीसँगै परमप्रभुको निम्ति पुजारीले ती डोलाओस्, र दुईवटा थुमासँगै ती बलिदानस्वरूप अर्पण गरोस् । ती पुजारीको निम्ति परमप्रभुलाई अर्पण गरिएको पवित्र बलिदान हुने छन् ।

21 त्यही दिन तिमीहरूले घोषणा गर्नू । त्यहाँ पवित्र सभा हुने छ, र तिमीहरूले गर्ने दैनिक काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूको वंशमा यो सदाको निम्ति विधि हुने छ ।

22 तिमीहरूले आफ्नो भूमिको फसल कटनी गर्दा आफ्ना भूमिको कुना-कुनामा कटनी नगर्नू, र आफ्नो फसलको शिला-बाला नबटुल्‍नू । ती तिमीहरूले गरिब र परदेशीका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”

23 परमप्रभुले मोशालाई भन्‍नुभयो,

24 “इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको दिन हुने छ, र त्यो दिन तुरही फुकेर सम्झना गरिने छ र पवित्र सभा हुने छ ।

25 तिमीहरूले आफ्ना दैनिक काम नगर्नू, र तिमीहरूले परमप्रभुका निम्ति आगोद्वारा बलि अर्पण गर्नू’ ।”

26 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,

27 “सातौँ महिनाको दसौँ दिन प्रायश्‍चित्तको दिन हो । त्यस बेला एउटा पवित्र सभा होस्, र तिमीहरूले आफैलाई नम्र बनाएर परमप्रभुको निम्ति आगोद्वारा बलि अर्पण गर्नू ।

28 त्यस दिन तिमीहरूले काम नगर्नू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो ।

29 त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।

30 त्यस दिन कुनै पनि काम गर्ने मानिसलाई म परमप्रभुले नै त्यसका मानिसहरूका बिचमा नष्‍ट गर्ने छु ।

31 तिमीहरूले त्यस दिन कुनै पनि प्रकारको काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो विधि बनोस् ।

32 यो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको शबाथ होस्, र त्यस महिनाको नवौँ दिनको साँझ तिमीहरूले आफैलाई नम्र बनाउनू । अर्को दिनको साँझसम्म तिमीहरूले शबाथ मान्‍नू ।”

33 परमप्रभुले मोशालाई भन्‍नुभयो,

34 “इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ । त्यो सात दिनसम्म रहने छ ।

35 पहिलो दिनमा पवित्र सभा होस् । तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।

36 सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।

37 यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन्, जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान, होमबलि र अन्‍नबलि, बलिदानहरू र अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ ।

38 परमप्रभुका निम्ति शबाथ, र तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलहरू, र तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन् ।

39 छाप्रो-बासको चाडको सम्बन्धमा, सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्‍नू । पहिलो दिन पवित्र विश्राम हुने छ, र आठौँ दिन पनि पवित्र विश्राम हुने छ ।

40 पहिलो दिनमा तिमीहरूले रुखहरूबाट उत्तम फल, खजुरका हाँगाहरू, र धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिनू, र सात दिनसम्म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाउनू ।

41 हरेक वर्ष सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति यो चाड मनाउनू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो एउटा विधि होस् ।

42 तिमीहरू सात दिनसम्म स-साना छाप्रोमा बस्‍नू । इस्राएलमा जन्मेका सबै जना सात दिनसम्म स-साना छाप्रोमा बसून्,

43 ताकि तिमीहरूका वंशले पुस्तौँ-पुस्तासम्म यो जानून्, कि मैले इस्राएलका मानिसहरूलाई मिश्र देशबाट बाहिर ल्याउँदा तिनीहरूलाई कसरी यी स-साना छाप्राहरूमा बस्‍न लगाएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”

44 यसरी मोशाले परमप्रभुका निम्ति तोकिएका चाडहरूबारे इस्राएलका मानिसहरूलाई घोषणा गरे ।

Everything we make is available for free because of a generous community of supporters.

Donate