Menu

लुका 7

ULB

1 सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्‍नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो ।

2 एउटा कप्‍तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो ।

3 तर उनले येशूको बारेमा सुनेको हुनाले कप्‍तानले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइ दिनुहोस् भनी पठायो ।

4 जब तिनीहरू येशूको नजिक आए, तब तिनीहरूले उहाँसँग यसो भन्दै बिन्ती गरे, तिनी योग्यका छन् यो तिनका निम्ति तपाईंले गरिदिनुहोस् ।

5 किनकि उनले हाम्रा जातिहरूलाई प्रेम गर्छन् र उनी तिनै नै हुन् जसले हाम्रा लागि सभाघर पनि निर्माण गरिदिएका छन् ।”

6 त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्‍नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ ।

7 यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्‍त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ ।

8 किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरोमुनि सिपाहीहरू छन् । मैले एउटलाई जा भन्छु र त्यो जान्छ र अर्कोलाई आइज भन्छु र त्यो आउँछ र मेरो दासलाई ‘यसो गर भन्छु,‘ त्यसले त्यो गर्छ ।”

9 जब येशूले त्यो सुन्‍नुभयो, उहाँ अचम्मित हुनुभयो र भिडतिर फर्केर उनलाई देखाउँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्‍वास भेट्टाएको छैन ।”

10 तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए ।

11 त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए ।

12 जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।

13 तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ ।”

14 तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्‍नेहरू टक्‍क अडिए । उहाँले भन्‍नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।”

15 मृत मानिस उठ्यो र बोल्न थाल्यो । तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो ।

16 तब तिनीहरू सबै डराए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिरहे, “हाम्रा बिचमा एउटा महान् अगमवक्‍ता खडा भएका छन् र परमेश्‍वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।”

17 येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो ।

18 यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।

19 तब यूहन्‍नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ ?

20 जब तिनीहरू येशूको नजिक गए, तब तिनीहरूले यसो भने, बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ ?”

21 त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो ।

22 येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । दृष्‍टिविहीनहरूले दृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्‍नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ ।

23 मेरो क्रियाकलापको कारणले मलाई विश्‍वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो ।

24 यूहन्‍नाका समाचार वाहकहरू गइसकेपछि येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमी उजाड-स्थानमा के हेर्नलाई गयौ, के बतासले हल्लाइराखेको निगालोलाई ?

25 तर के हेर्नलाई तिमी गयौ, मलमलको कपडा लगाएको एउटा मानिसलाई ? हेर, राम्रा सुन्दर कपडा लगाएका मानिसहरू राजाका दरबारमा भोगविलाससाथ जिउँछन् ।

26 तर के हेर्नलाई तिमीहरू बाहिर गयौ, एउटा अगमवक्‍तालाई ? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्‍ताभन्दा पनि महान् यहाँ छ ।

27 यो जसको बारेमा लेखिएको छ, हेर, म मेरा सन्‍देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु ।

28 म तिमीहरूलाई भन्दछु, स्‍त्रीहरूबाट जन्मेकाहरूमध्येमा, बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा महान् कोही छैन, तापनि परमेश्‍वरको राज्यमा सबभन्दा कम महत्त्‍वको मानिस पनि उनीभन्दा महान् हुन्छ ।”

29 जब सबै मानिसहरूले यो सुने, तब कर उठाउनेहरूसमेत, तिनीहरूले यो घोषणा गरे कि परमेश्‍वर धर्मी हुनुहुन्छ, जसले बप्‍तिस्मा-दिने यूहन्‍नासँगै बप्‍तिस्‍मा लिएका थिए ।

30 तर फरिसीहरू र यहूदीहरूका व्यवस्थाका पण्डितहरू, जसले उनीबाट बप्‍तिस्‍मा लिएका थिएनन्, तिनीहरू आफैँले आफ्ना निम्ति परमेश्‍वरको बुद्धिलाई इन्कार गरे ।

31 यस पुस्ताका मानिसहरूलाई मैले केसित तुलना गरूँ ? तिनीहरू केजस्ता छन् ?

32 तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरूजस्ता छन्, जो बस्दछन् र एक अर्कोलाई यसो भन्दै बोलाउँछन्, “हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्‍यौँ, तर तिमीहरू रोएनौ ।”

33 किनकि बप्‍तिस्मा-दिने यूहन्‍ना न रोटी खाँदै आए न त दाखमद्य नै पिउदै आए र पनि तिमीहरू भन्छौ कि उसलाई भूत लागेको छ ।

34 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिमीहरू भन्छौ, “हेर, ऊ त एउटा घिचुवा र पियक्‍कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो ।”

35 तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ ।”

36 अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्‍नुभयो ।

37 हेर, त्यस सहरमा एउटी स्‍त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्‍नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् ।

38 तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् ।

39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, तब उनले जान्‍ने थिए कि को र कस्ती प्रकारकी स्‍त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्‍त्री हो भनेर ।”

40 येशूले जवाफ दिएर उसलाई भन्‍नुभयो, “सिमोन मैले तिमीलाई केही भन्‍नु छ ।” उसले भन्यो, “गुरुज्यू, भन्‍नुहोस् ।”

41 येशूले भन्‍नुभयो, “दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए । एउटाले पाँच सय दिनार ऋण, र अर्कोले पचास दिनार ऋण लिएको रहेछ ।

42 तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ ?”

43 सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्‍नुभयो तिमीले ठिकसित न्याय गर्‍यौ ।”

44 येशू स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो, “तिमी यो स्‍त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।

45 तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन् ।

46 तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन् ।

47 यो घटनाको कारणले म तिमीलाई भन्दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।”

48 तब उहाँले तिनलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”

49 त्यहाँ एकसाथ बसिरहेकाहरूले एक-अर्कामा भन्‍न थाले, ‘पाप क्षमा गर्ने यी को हुन् र ?‘

50 तब येशूले स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate