Menu

मत्ती 11

ULB

1 येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्‍नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो ।

2 अनि जब यूहन्‍नाले झ्यालखानाबाट ख्रीष्‍टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए,

3 र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ ?”

4 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।

5 दृष्‍टिविहीनहरूले दृष्‍टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।

6 अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।”

7 जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई ?

8 तिमीहरू के हेर्न बाहिर गयौ– मलमलको लुगा लगाउने मानिसलाई ? वास्तवमा मलमलको कपडा लगाउने व्यक्‍ति त राजाहरूका दरबारहरूमा बस्छ ।

9 तर तिमीहरू के हेर्न बाहिर गयौ– के अगमवक्‍तालाई ? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्‍ताभन्दा पनि महान् व्यक्‍तिलाई ।

10 उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म तिमीहरूको अगि-अगि मेरा समाचारवाहकलाई पठाउँदै छु, जसले म आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन् ।’

11 साँच्‍चै म तिमीहरूलाई भन्दछु, स्‍त्रीबाट जन्मेकाहरूमा बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा महान् अरू कोही छैन । तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्‍वको मानिस उनीभन्दा महान् हुन्छन् ।

12 बप्‍तिस्मा-दिने यूहन्‍नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले तीव्रता भोगिरहेको छ, र उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन् ।

13 किनकि यूहन्‍ना नआन्जेलसम्म सबै अगमवक्‍ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए ।

14 अनि यदि तिमीहरूले एलियालाई पाउने इच्छा गरिरहेका छौ भने, आउनुपर्ने एलिया उनी नै हुन् ।

15 जससँग सुन्‍ने कान छ, त्यसले सुनोस् ।

16 यस पुस्तालाई म केसँग तुलना गरूँ ? यो त बजारमा खेलिरहेका बालकहरूजस्तै छ, जो बस्दछ र एक अर्कालाई बोलाउँदछ,

17 र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्‍यौँ, र तिमीहरू रोएनौ ।’

18 किनकि यूहन्‍ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’

19 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्‍कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो !’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।”

20 तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन् ।

21 “धिक्‍कार तँलाई, ए खोराजीन ! धिक्‍कार तँलाई, ए बेथसेदा ! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए ।

22 न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ ।

23 तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो ।

24 तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”

25 त्यस बेला येशूले भन्‍नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन् ।

26 हो, पिता, किनकि तपाईंको दृष्‍टिमा यही नै मनपर्दो थियो ।

27 मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्दैन ।

28 मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु ।

29 मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ ।

30 किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate