Menu

मिका 7

ULB

1 हाय म! म ग्रीष्म ऋतुमा बटुलिएको फलझैँ भएको छु, र रस निकालिएको दाखझैँ भएको छु । त्यहाँ खानलाई दाखको झुप्पा छैन, र मेरो प्राणले इच्छा गरेकोजस्तो पहिले नै पाकेको अन्जीर पनि छैन ।

2 भुमिबाट विश्‍वसनीय मानिसहरू बिलिन भएका छन् । सारा मानवजातिमा कोही सोझो मानिस छैन । तिनीहरू सबै रक्तपातको निम्ति पर्खिरहन्छन् । हरेकले आफ्नो दाजुभाइलाई जालले शिकार गर्दछ ।

3 तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।

4 तिनीहरूमध्येको उत्कृष्‍टचाहिँ काँडाझैँ छ, सबैभन्दा सोझोचाहिँ काँडाको झाँगभन्दा पनि खराब छ । तिमीहरूका पहरेदारहरूले पहिले नै बताएको दिन, तिमीहरूको दण्डको दिन यही हो । अब यो तिनीहरूको भ्रमको समय हो ।

5 कुनै पनि छिमेकीमाथि विश्‍वास नगर्नू । कुनै साथिमाथि भरोसा नगर्नू । तिम्रा अङ्गालोमा बस्‍ने स्‍त्रीसँग पनि होसियारसँग बोल्नू ।

6 किनभने छोरोले आफ्ना बुबाको अनादर गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्छे, र बुहारी सासूको विरुद्ध । मानिसको शत्रु आफ्नै घरका मानिसहरू हुन् ।

7 तर मचाहिँ परमप्रभुतर्फ आँखा लगाउँछु । म मेरो मुक्तिको परमेश्‍वरको पर्खाइमा छु, मेरा परमेश्‍वरले मलाई सुन्‍नुहुन्छ ।

8 ए मेरो शत्रु, मलाई देखेर रमाहट नगर् । म लडेपछि, फेरि उठ्नेछु । जब म अन्धकारमा बस्दछु, परमप्रभु मेरो निम्ति ज्योति हुनुहुनेछ ।

9 मैले परमप्रभुको विरुद्ध पाप गरेको कारणले, उहाँले मेरो विषयमा वकालत नगर्नुभएसम्म, र मेरो निम्ति इन्साफ नगर्नुभएसम्म मैले उहाँको क्रोध सहनेछु ।

10 अनि मेरो शत्रुले त्यो देख्‍नेछ, र “परमप्रभु तेरो परमेश्‍वर कहाँ छ?” भनेर भन्‍नेलाई शर्मले ढाक्‍नेछ । मेरा आँखाले त्यसलाई हेर्नेछन् । सडकहरूका माटोझैँ त्यो कुल्चिनेछे ।

11 तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन आउनेछ । त्यस दिनमा सिमानाहरू टाढा-टाढासम्म विस्तार हुनेछन् ।

12 त्यस दिन अश्शूर र मिश्रका शहरहरुबाट, मिश्रदेखि यूफ्रेटिस नदीसम्म, समुद्रदेखि समुद्रसम्म, र पर्वतदेखि पर्वतसम्म मानिसहरू तिमीहरूकहाँ आउनेछन् ।

13 तर भुमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण, र तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ ।

14 आफ्ना मानिसहरू, अर्थात् तपाईंका उत्तराधिकारको बगाललाई आफ्नो छडीले नियन्त्रण गर्नुहोस् । तिनीहरू एक्लै खर्कको बिचमा, र जङ्गलमा बस्छन् । पुराना दिनहरूमा झैँ तिनीहरूलाई बाशान र गिलादमा चर्न दिनुहोस् ।

15 मिश्रको भुमिबाट तिमीहरू बाहिर आएका दिनमा झैँ, म तिनीहरूलाई आश्‍चर्य कामहरू देखाउनेछु ।

16 जाति-जातिहरूले यो देख्‍नेछन् र आफ्ना शक्तिमाथि लज्‍जित हुनेछन् । तिनीहरूले केही बोल्नेछैनन्, र तिनीहरू बहिरा हुनेछन् ।

17 तिनीहरूले सर्पले झैँ धुलो चाट्नेछन्, माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन् । तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन् । परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन्, र तिनीहरू तपाईंको कारण भयभीत हुनेछन् ।

18 तपाईंझैँ परमेश्‍वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ? उहाँ सदाको निम्ति रिसाउनुहुन्‍न, किनभने उहाँ आफ्नो करारको विश्‍वसनीयतामा खुशी हुनुहुन्छ ।

19 तपाईंले फेरि हामीमाथि दया देखाउनुहुनेछ । तपाईंले हाम्रा अपराधहरूलाई आफ्ना पाऊमुनि कुल्चनुहुनेछ । तपाईंले हाम्रा सबै पापहरूललाई समुद्रको गहिराइमा फ्याँकिदिनुहुनेछ ।

20 प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता र अब्राहामलाई करारको विश्‍वसनीयता दिनुहुनेछ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate