Menu

गन्ती 1

ULB

1 सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासँग बोल्नुभयो । यो इस्राएलका मानिसहरू मिश्र देशबाट निस्की आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा भएको थियो । परमप्रभुले भन्‍नुभयो,

2 “इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर् । तिनीहरूका नाउँअनुसार गन् । हरेक पुरुषको गणना गर्,

3 जो बिस वर्ष वा त्यसभन्दा माथिका छन् । इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन् । तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ ।

4 हरेक कुलको एक जना पुरुषले अर्थात् वंशको मुखियाले आफ्नो वंशको अगुवाको रूपमा तिमीहरूसँग सेवा गर्नुपर्छ ।

5 हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको

6 कुलबाट सुरीशद्दैको छोरो शलूमीएल ।

7 यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;

8 इस्साखारको कुलबाट सूआरको छोरो नतनेल;

9 जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;

10 योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;

11 बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान;

12 दानको कुलबाट अम्मीसद्दैको छोरो अहिएजेर;

13 आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;

14 गातको कुलबाट दूएलको छोरो एल्यासाप;

15 नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा ।”

16 मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए । तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे । तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए ।

17 नाउँअनुसार अभिलेख राखिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए, र

18 यी मानिसहरूसँगै एस्राएलका सबै मानिस दोस्रो महिनाको पहिलो दिनमा भेला भए ।

19 त्यसपछि बिस वर्ष र त्यसभन्दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो । त्यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे ।

20 इस्राएलका जेठा छोरो रूबेनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

21 रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।

22 शिमियोनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

23 शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए ।

24 गादका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

25 गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए ।

26 यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

27 यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।

28 इस्साखारका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

29 इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।

30 जबूलूनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

31 जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।

32 योसेफका छोरा एफ्राइमका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

33 एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए ।

34 मनश्‍शेका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

35 मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए ।

36 बेन्यामीनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

37 बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।

38 दानका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

39 दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए ।

40 आशेरका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

41 आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए ।

42 नप्‍तालीका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

43 नप्‍तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए ।

44 मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे ।

45 यसैले लडाइँमा जान सक्‍ने बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्ती गरियो ।

46 तिनीहरू ६,०३,५५० पुरुष थिए ।

47 तर लेवीका सन्तानहरूको गन्ती

48 गरिएन, किनभने परमप्रभुले मोशालाई भन्‍नुभयो,

49 “तैँले लेवीको कुललाई नगन्‍नू वा इस्राएलका कुल मानिसहरूमा नगाभ्नू ।

50 बरु, लेवीहरूलाई पवित्र वासस्थानको करारका विधिहरूको हेरचाह गर्न र पवित्र वासस्थानका सबै सरसामान र यसमा भएका सबै कुराको हेरचाह गर्न नियुक्‍त गर्नू ।

51 पवित्र वासस्थान अर्को ठाउँमा सार्नुपर्दा यसलाई लेवीहरूले उठाउनुपर्छ । पवित्र वासस्थान खडा गर्नुपर्दा लेवीहरूले नै खडा गर्नुपर्छ । पवित्र वासस्थानको नजिक आउने कुनै पनि अपरिचित व्यक्‍तिलाई मार्नू ।

52 इस्राएलका मानिसहरूले आ-आफ्ना पालहरू टाँग्दा हरेकले तिनीहरूका सशस्‍त्र समुहको झण्डाको नजिकै टाँग्‍नू ।

53 तथापि, लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्‍नुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस् । लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ ।

54 इस्राएलका मानिसहरूले यी सबै कुरा गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको सबै थोक तिनीहरूले गरे ।

Everything we make is available for free because of a generous community of supporters.

Donate