Menu

गन्ती 16

ULB

1 लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरहसाथै रूबेनका कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेथका छोराले केही मानिसहरू भेला गरे ।

2 तिनीहरू, इस्राएलका मानिसहरूका अन्य मानिसहरूसँगै दुई सय पचास समुदायका अगुवाहरू जो नाम चलेका सदस्यहरू थिए, मोशाको विरुद्धा खडा भए ।

3 तिनीहरू मोशा र हारूनको सामना गर्न आफै भेला भए । तिनीहरूले उनीहरूलाई भने, “तपाईंहरूले अति गर्नुभयो! सबै समुदाय, तिनीहरूमध्ये हरेकलाई नै अलग गरिएको छ र परमप्रभु तिनीहरूसँग छन् । किन आफैलाई परमप्रभुको समुदायभन्दा माथि उठाउनुहुन्छ ?”

4 जब मोशाले त्यो सुने, तिनी घोप्टो परे ।

5 तिनले कोरह र उनका साथमा भएकाहरूलाई भने, “को उहाँका हुन् र कसलाई उहाँको निम्ति अलग गरिएको छ भनी परमप्रभुले बिहान देखाउनुहुने छ । त्यस व्‍यक्‍तिलाई उहाँले उहाँको नजिक ल्याउनुहुने छ । उहाँले चुन्‍नुभएकोलाई आफैले आफ्नो नजिक ल्याउनुहुने छ ।

6 कोरह र तिम्रा सबै समूहले यो गर । धुपौराहरू लेओ ।

7 भोलि त्यसमा परमप्रभुको सामु धूप र आगो राख । परमप्रभुले चुन्‍नुहुने मानिसलाई उहाँको निम्ति अलग गरिनेछ । तिमी लेवीका सन्तानहरू अति धेरै भएका छौ ।”

8 फेरि मोशाले कोरहलाई भने, “सुन, तिमी लेवीका सन्तानहरूः

9 के परमप्रभुको पवित्र वासस्थानमा काम गर्न र समुदायको सेवा गर्न तिनीहरूको सामु खडा हुन इस्राएलको समुदायबाट तिमीहरूलाई छुट्ट्याएको तिमीहरूको निम्ति सानो कुरा हो ?

10 उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ !

11 यसैले तिमी र तिमीहरूका सबै समूह सँगसँगै भेला भएका छौ । त्यसैले तिमीहरूले किन हारूनको बारेमा गनगन गरिरहेका छौ, जसले परमप्रभुको आज्ञा पालन गर्छन् ?

12 त्यसपछि मोशाले दातान र अबीराम, एलीआबका छोराहरूलाई बोलाए । तर तिनीहरूले भने, “हामी आउँदैनौँ ।

13 के हामीलाई दूध र मह बग्‍ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो ? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ !

14 यसको अतिरिक्‍त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ ? हामी तपाईंकहाँ आउँदैनौँ ।”

15 मोशा साह्रै रिसाए र परमप्रभुलाई भने, “तिनीहरूको भेटीको कदर नगर्नुहोस् । मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ, र मैले तिनीहरू कसैलाई पनि हानि पुर्‍याएको छैनँ ।

16 मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा सबै दल अर्थात् तिमी, तिनीहरू र हारून परमप्रभुको सामु जानुपर्छ । तिमीहरू हरेकले आ-आफ्ना धुपौरा लिनुपर्छ र यसमा धूप राख्‍नुपर्छ ।

17 अनि हरेकले आ-आफ्ना दुई सय पचासवटा धुपौरा परमप्रभुको सामु ल्याउनुपर्छ । तिमी र हारूनले पनि आ-आफ्ना धुपौरा ल्याउनुपर्छ ।”

18 यसैले हरेकले आ-आफ्ना धुपौरा लिए, यसमा आगो राखे, यसमा धूप राखे र मोशा र हारूनसँगै भेट हुने पालको प्रवेश-द्वारमा खडा भए ।

19 कोरहले सारा समुदायलाई मोशा र हारूनको विरुद्धमा भेट हुने पालको प्रवेश-द्वारमा भेला पारे र परमप्रभुको महिमा सारा समुदायकहाँ देखा पर्‍यो ।

20 परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो,

21 “यस समुदायबाट अलग होओ , ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।”

22 मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ ?”

23 परमप्रभुले मोशालाई जवाफ दिनुभयो,

24 “समुदायलाई भन् । 'कोरह, दातान र अबीरामका पालहरूबाट पर जाओ' भन् ।”

25 अनि मोशा खडा भए र दातान र अबीरामको पालमा गए; इस्राएलका धर्म-गुरुहरू तिनको पछि-पछि गए ।

26 तिनले समुदायलाई यसो भने, “यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।”

27 यसैले कोरह, दातान र अबीरामका पाल वरिपरिका समुदायले तिनीहरूलाई छोडे । दातान र अबीराम तिनीहरूका पत्‍नीहरू, छोराहरू र स-साना बालबालिकाहरूसहित तिनीहरूका पालको प्रवेश-द्वारमा खडा भए ।

28 मोशाले भने, “यसैद्वारा यी सबै थोक गर्न मलाई परमप्रभुले पठाउनुभएको छ भन्‍ने तिमीहरूले जान्‍नेछौ, किनभने मैले तिनीहरू मेरो आफ्नै इच्छामा गरेको छैन ।

29 यदि यी मानिसहरू सामान्य रूपमा हुने स्वाभाविक मृत्युद्वारा मर्छन् भने, मलाई परमप्रभुले पठाउनुभएको होइन ।

30 तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्छ, धर्तीले आफ्नो मुख उघार्छ र तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ, र तिनीहरू जिउँदै चिहानभित्र जान्छन् भने, यी मानिसहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् भनी तिमीहरूले बुझ्नुपर्छ ।”

31 मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो ।

32 धर्तीले यसको मुख उघार्‍यो अनि तिनीहरूका परिवारहरू र कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो ।

33 यसैले तिनीहरू र तिनीहरूसँग भएका सबै थोक जिउँदै चिहानभित्र लगिए । धर्ती तिनीहरूमाथि बन्द भयो, र तिनीहरू समुदायबाट नष्‍ट भए ।

34 तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्‍च्याउँदै भागे । तिनीहरू, “धर्तीले हामीलाई पनि निल्ने भो!” भन्‍दै चिच्‍च्याए ।

35 अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो ।

36 फेरि परमप्रभु मोशासँग बोल्नुभयो,

37 “पुजारी हारूनका छोरा एलाजारलाई भन् र त्यसले धुपौराहरूलाई आगोबाट निकालोस्, किनभने धुपौराहरू मेरा निम्ति अलग गरिएका छन् । त्यसले बलिरहेका आगोका फिलुङ्गाहरूलाई छरोस् ।

38 आफ्नो पापको कारण जीवन गुमाउनेहरूको धुपौराहरू ले । तिनीहरूलाई पिटेर वेदीलाई मोहर्ने पाताहरू बनाइयोस् । ती मानिसहरूले तिनीहरूलाई मेरो निम्ति अर्पण गरे । यसैले तिनीहरूलाई मेरो निम्ति अलग गर । तिनीहरू इस्राएलका मानिसहरूका निम्ति मेरो उपस्थितिको चिन्ह हुने छन् ।

39 पुजारी एलाजारले आगोले नष्‍ट भएका मानिसहरूले प्रयोग गरेका काँसाका धुपौराहरू लिए र

40 इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।

41 तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”

42 समुदाय मोशा र हारूनको विरुद्ध भेला हुँदा तिनीहरूले भेट हुने पालतिर हेरे अनि हेर! यसलाई बादलले ढाकिरहेको थियो । परमप्रभुका महिमा देखा पर्‍यो,

43 र मोशा र हारून भेट हुने पालको अघि आए ।

44 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,

45 “यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्टो परे ।

46 मोशाले हारूनलाई भने, “धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ ।

47 यसैले हारूले मोशाले अह्राएबमोजिम गरे । तिनी समुदायको बिचमा दौडेर गए । विपत्ति मानिसहरूबिच फैलिन थालेको थियो, यसैले तिनले धूप राखे र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरे ।

48 हारून जीवित र मृतकहरूका बिचमा खडा भए । यसरी विपत्ति रोकियो ।

49 कोरहको विषयमा पनि मरेका अतिरिक्‍त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो ।

50 हारून भेट हुने पालको प्रवेश-द्वारमा मोशाकहाँ फर्केर आए र विपत्ति रोकियो ।

Everything we make is available for free because of a generous community of supporters.

Donate