Menu

हितोपदेश 1

ULB

1 दाऊदका छोरा इस्राएलका राजा सोलोमनको हितोपदेशः

2 यी हितोपदेशहरू बुद्धि र निर्देशनक कुराहरू सिकाउन र अन्तर्दृष्‍टिका वचनहरू सिकाउनलाई हो,

3 ताकि जे ठिक, न्यायी र उचित छ त्यो गरेर बाँच्नलाई तिमीले निर्देशन प्राप्‍त गर्न सक ।

4 यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन र युवाहरूलाई ज्ञान र समझदारी दिनलाई पनि हो ।

5 बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,

6 जसद्वारा तिनीहरूले हितोपदेशहरू, दृष्‍टान्तहरू, बुद्धिमानीहरूका वचनहरू र आहानहरू बुझून् ।

7 परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ ।

8 हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।

9 ती तेरो शिरमा अनुग्रहको माला हुने छन्, र तेरो गलामा सम्मानको हार हुने छन् ।

10 हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग् ।

11 तिनीहरूले भन्लान्, “हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ ।

12 स्वस्थहरूलाई पातालले निलेझैँ तिनीहरूलाई जिउँदै निलौँ, र तिनीहरूलाई खाडलमा खस्‍नेहरूलाई झैँ गरौँ ।

13 हामीले सबै किसिमका बहुमूल्य थोकहरू पाउने छौँ । तिनीहरूबाट हामीले चोरेका थोकहरूले हामी आफ्ना घरहरू भर्ने छौँ ।

14 तिमी हामीसित साझेदार होऊ । हामी सबैको एउटै थैलो हुने छ ।”

15 हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल । तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे ।

16 तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।

17 किनकि कुनै पनि पक्षीको दृष्‍टिमा जाल फ्याँक्‍नु बेकाम्मा हुन्छ ।

18 यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन् ।

19 अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन् । अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ ।

20 बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ ।

21 होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ,

22 “हे निर्बुद्धि मानिसहरू हो, तिमीहरू कहिलेसम्म निर्बुद्धि भइरहन्छौ ? हे गिल्ला गर्नेहरू हो, तिमीहरू कहिलेसम्म गिल्ला गर्नमा रमाउँछौ ? र हे मूर्खहरू हो, तिमीहरू कहिलेसम्म ज्ञानलाई घृणा गर्छौ ?

23 मेरो सुधारलाई ध्यान देओ । म तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु । म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु ।

24 मैले बोलाएको छु, तर तिमीहरूले सुन्‍न इन्कार गरेका छौ । मैले मेरा हात फैलाएँ, तर ध्यान दिने कोही थिएन ।

25 तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ ।

26 तिमीहरूमाथि विपत्ति आइपर्दा म खिसी गर्ने छु; त्रास आउँदा म तिमीहरूलाई उपहास गर्ने छु-

27 जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउने छ, र भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्छ, र सङ्कष्‍ट र पीडा तिमीहरूमाथि आउँछन् ।

28 तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् ।

29 तिनीहरूले ज्ञानलाई घृणा गर्ने भएकाले र परमप्रभुको भयलाई नरोजेकाले,

30 तिनीहरूले मेरो निर्देशनलाई मानेनन्, र मेरो सुधारलाई तुच्छ ठाने ।

31 तिनीहरूले तिनीहरूका चालको फल खाने छन्, र तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन् ।

32 किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्छन्, र मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्‍ट गर्ने छन् ।

33 तर मेरो कुरा सुन्‍ने सुरक्षामा जिउने छ, र कुनै पनि विपत्तिको डरैविना ढुक्‍कसित बस्‍ने छ ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate