Menu

भजनसंग्रह 132

ULB

1 हे परमप्रभु, दाऊदको खातिर तिनका सबै कष्‍टहरू याद गर्नुहोस् ।

2 तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्‌सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् ।

3 तिनले भने, “म मेरो घरभित्र पस्‍नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन,

4 म आफ्‍ना आँखालाई सुत्‍न दिनेछैन न त आफ्‍ना पलकहरूलाई विश्राम दिनेछु,

5 जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्‌को निम्ति एउटा वासस्थान म पाउँदिन ।”

6 हेर्नुहोस्, हामीले यसबारे एप्रातामा सुन्यौ । हामीले यसलाई याआरको मैदनमा भेट्टायौं ।

7 हामी परमेश्‍वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं ।

8 हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्‍नुहोस् ।

9 तपाईंका पुजारीहरूले इमानदारीताको वस्‍त्र लगाऊन् । तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले कराऊन् ।

10 तपाईंको सेवक दाऊदको खातिर, तपाईंको अभिषिक्‍त राजाबाट नतर्किनुहोस् ।

11 परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु ।

12 तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्‍था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्‍नेछन् ।”

13 निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ ।

14 “यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।

15 म त्यसलाई प्रशस्‍त मात्रमा अन्‍नको आशिष्‌ ‌‌दिनेछु । त्यसका गरीबलाई म रोटीले तृप्‍त पार्ने छु ।

16 त्यसका पुजारीहरूलाई म उद्धारको वस्‍त्र पहिराउनेछु । त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गर्नेछन् ।

17 दाऊदको निम्ति त्‍यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्‍त जनको निम्ति एउटा बत्ती राख्‍नेछु ।

18 त्यसका शत्रुहरूलाई म लाजले ढाक्‍नेछु, तर त्‍यसको शीरमा त्‍यसको मुकुट चम्किनेछ ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate