Menu

भजनसंग्रह 145

ULB

1 हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु ।

2 हरेक दिन म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु ।

3 परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ ।

4 एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।

5 म तपाईंको महिमाको ऐश्‍वर्य र तपाईंका अचम्‍मका कामहरू ध्‍यान गर्नेछु ।

6 तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्‍नेछन् र म तपाईंको महान‌्‌ताको घोषणा गर्नेछु ।

7 तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् ।

8 परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्‍वस्‍ततामा प्रशस्त हुनुहुन्छ ।

9 परमप्रभु सबैका निम्ति भला हुनुहुन्छ । उहाँका सबै काममा उहाँका कोमल कृपा छन् ।

10 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंलाई धन्‍यको भन्‍नेछन् ।

11 तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको राज्यको महिमाको बारेमा भन्‍नेछन् र तिनीहरूले तपाईंको शक्तिको बारेमा बोल्‍नेछन् ।

12 तिनीहरूले मानवजातिलाई परमेश्‍वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् ।

13 तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ ।

14 असफल भइरहेका सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ र दबिएकाहरू सबैलाई माथि उठाउनुहुन्छ ।

15 सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ ।

16 तपाईंले आफ्नो हात खोल्नुहुन्छ र सबै जीवित प्राणीका इच्छा तृप्‍त पार्नुहुन्छ ।

17 परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी र उहाँले गर्ने सबै काममा अनुग्रही हुनुहुन्छ ।

18 परमप्रभुलाई पुकार्नेहरू सबैका नजिक, उहाँलाई सत्यतामा पुकार्नेहरूको नजिक हुनुहुन्छ ।

19 उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ ।

20 परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्‍टलाई नाश गर्नुहुनेछ ।

21 मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्‍यको भनून् ।

Everything we make is available for free because of a generous community of supporters.

Donate