Menu

भजनसंग्रह 25

ULB

1 हे परमप्रभु, म आफ्‍नो जीवन तपाईंमा उचाल्छु ।

2 हे परमेश्‍वर, म तपाईंमा भरोसा गर्छु । मलाई अपमानित हुन नदिनुहोस् । मेरा शत्रुहरू ममाथि विजयसाथ आनन्‍दित हुन नदिनुहोस् ।

3 तपाईंमा आसा राख्‍ने कोही पनि अपमानित नहोस् । विनाकारण छली रूपले काम गर्नेहरू लज्‍जित होऊन् !

4 हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् ।

5 मलाई तपाईंको सत्यतामा डोर्‍याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्‍वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु ।

6 हे परमप्रभु, तपाईंका दयाका कामहरू र करारको विश्‍वस्तता सम्झनुहोस् । किनकि तिनीहरू सँधै अस्तित्वमा थिए ।

7 मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस् । हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्‍वस्ततामा मलाई सम्झनुहोस् ।

8 परमप्रभु असल र सोझो हुनुहुन्छ । यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ ।

9 उहाँले नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ ।

10 परमप्रभुका करार र उहाँका गहन आज्ञाहरू पालन गर्नेहरूका निम्ति उहाँका सबै मार्गहरू अटल प्रेम र विश्‍वस्‍तता हुन् ।

11 हे परमप्रभु, तपाईंको नाउँको खातिर मेरो पाप क्षमा गर्नुहोस्, किनकि यो महान् छ ।

12 परमप्रभुको भय मान्‍ने मानिस को हो? त्यसले चुन्‍नुपर्ने मार्गमा परमप्रभुले त्यसलाई शिक्षा दिनुहुन्छ ।

13 त्यसको जीवन भलाइमा बित्‍नेछ । त्यसका सन्तानहरूले देशको उत्तराधिकार पाउनेछन् ।

14 परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ ।

15 मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्, किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्‍त गर्नुहुनेछ ।

16 मतिर फर्कनुहोस् र मलाई दया गर्नुहोस् । किनकि म एक्‍लो र कष्‍टमा परेको छु ।

17 मेरो हृदयका कष्‍टहरू ठुला भएका छन् । मेरो कष्‍टहरूबाट मलाई बाहिर तान्‍नुहोस् ।

18 मेरो कष्‍ट र मेरो परिश्रमहरू हेर्नुहोस् । मेरा सबै पाप क्षमा गर्नुहोस् ।

19 मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन् । तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन् ।

20 मेरो जीवनको रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस् । मलाई अपमानित हुन नदिनुहोस् किनकि मैले तपाईंमा शरण लिन्छु ।

21 निष्ठा र इमानदारीले मलाई बचाओस्, किनकि म तपाईंमा आसा गर्छु ।

22 हे परमेश्‍वर, इस्राएललाई त्यसको सबै कष्‍टबाट बचाउनुहोस् ।

Everything we make is available for free because of a generous community of supporters.

Donate