Menu

भजनसंग्रह 28

ULB

1 हे परमप्रभु, तपाईंमा नै म पुकारा गर्छु । हे मेरो चट्टान, मलाई बेवास्‍ता नगर्नुहोस् । तपाईंले मलाई जवाफ दिनुभएन भने, चिहानमा जानेहरूसँग म सहभागी हुनेछु ।

2 तपाईंबाट सहायताको निम्ति मैले पुकारा गर्दा, तपाईंको महापवित्र स्थानतिर मैले आफ्‍ना हातहरू उचाल्दा मेरो बिन्तिको सोर सुन्‍नुहोस् ।

3 अधर्म गर्ने दुष्‍टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्‍ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्‍ना हृदयहरूमा खराबी हुन्छ ।

4 तिनीहरूका कामहरूका फल तिनीहरूलाई दिनुहोस् र तिनीहरूका दुष्‍टताले मागअनुसार प्रतिफल तिनीहरूलाई दिनुहोस् । तिनीहरूका हातहरूका कामको निम्ति प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने कुरा तिनीहरूलाई दिनुहोस् ।

5 किनभने तिनीहरूले परमप्रभुको कामहरू वा उहाँका हातका कामहरू बुझ्दैनन्, उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिनीहरूलाई कहिल्यै पुनः निर्माण गर्नुहुनेछैनन् ।

6 परमप्रभु धन्यको होऊन् किनभने उहाँले मेरो बिन्तिको सोर सुन्‍नुभएको छ ।

7 परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्‍दित हुन्‍छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।

8 परमप्रभु आफ्‍ना मानिसहरूका बल हुनुहुन्छ, अनि उहाँ आफ्नो अभीषिक्‍त जनलाई बचाउने शरणस्थान हुनुहुन्छ ।

9 आफ्ना मानिसहरूलाई बचाउनुहोस् र आफ्नो उत्तराधिकारलाई आशिष्‌ ‌‌दिनुहोस् । तिनीहरूका गोठाला हुनुहोस् र तिनीहरूलाई सदासर्वदा बोक्‍नुहोस् ।

Everything we make is available for free because of a generous community of supporters.

Donate