Menu

भजनसंग्रह 33

ULB

1 ए धर्मीहरू हो, परमप्रभुमा आनन्‍दित होओ । सोझाहरूले प्रशंसा गर्न सुहाउँछ ।

2 वीणा बजाएर परमप्रभुलाई धन्यवाद देओ । दस तारे सारङ्गीसँगै उहाँको प्रशंसा गर ।

3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ । निपुणता साथ बजाओ र आनन्दले गाओ ।

4 किनकि परमप्रभुको वचन ठीक छ र उहाँले गर्ने हरेक कुरा न्यायोचित छ ।

5 उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ । पृथ्वी परमप्रभुको करारको विश्‍वस्‍तताले पूर्ण छ ।

6 परमप्रभुको वचनले आकाशको सृष्‍टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए ।

7 उहाँले समुद्रको पानीलाई एक ठाउँमा थुप्रोझैं जम्‍मा गर्नुहुन्छ । उहाँले महासागरहरूलाई भण्‍डारहरूमा राख्‍नुहुन्छ ।

8 सारा पृथ्वीले परमप्रभुको भय मानोस् । संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन् ।

9 किनकि उहाँले बोल्नुभयो र त्‍यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।

10 परमप्रभुले जातिहरूका मित्रतालाई व्‍यर्थ तुल्‍याउनुहुन्छ । उहाँले मानिसहरूका योजनाहरूलाई रद्द गर्नुहुन्छ ।

11 परमप्रभुको योजना सदासर्वदा रहन्छ, उहाँको हृदयका योजनाहरू सबै पुस्ताका निम्‍ति रहन्छ ।

12 त्यो जाति धन्यको हो जसको परमेश्‍वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्‍नुभएको छ ।

13 परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ । उहाँले सबै मानिसलाई देख्‍नुहुन्छ ।

14 आफू बस्‍नुहुने ठाउँबाट तल पृथ्वीमा बस्‍ने सबैलाई उहाँले हे्र्नुहुन्छ ।

15 तिनीहरू सबैका हृदयहरू बनाउनुहुनेले तिनीहरूका सबै कामहरू हेर्नुहुन्छ ।

16 ठुलो फौजद्वारा कुनै पनि राजा बाँच्‍न सक्‍दैन । आफ्‍नो महाबलले कुनै पनि योद्धा बाँच्‍न सक्‍दैन ।

17 घोडाचाहिं विजयको निम्ति झुटो आसा हो । त्यसको महान् बल भए पनि त्‍यसले बचाउन सक्दैन ।

18 हेर, परमप्रभुको आँखा उहाँको भय मान्‍नेहरूमाथि र उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्नेहरूमाथि रहन्‍छ ।

19 तिनीहरूका जीवन मृत्युबाट छुट्टाउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्‍नलाई ।

20 हामी परमप्रभुको आसा गर्छौं । उहाँ हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ ।

21 हाम्रा हृदयहरू उहाँमा आनन्‍दित हुन्‍छन्, किनकि उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं ।

22 हे परमप्रभु, हामीले आफ्‍नो आसा तपाईंमा राख्‍दा, तपाईंको करारको विश्‍वस्‍तता हामीसँग रहोस् ।

Everything we make is available for free because of a generous community of supporters.

Donate