Menu

जकरिया 13

ULB

1 “त्यस दिन दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूका पाप र अशुद्धताको कारण तिनीहरूका निम्ति पानीको छहरा खोलिनेछ ।

2 त्यस दिन, म भूमिबाट मूर्तिहरूका नाउँ मेटाइदिनेछु र तिनीहरूको कहिल्यै सम्झना हुनेछैन, परमप्रभु घोषणा गर्नुहुन्छ । म भूमिबाट अगमवक्ताहरू र अशुद्धताका आत्मालाई हटाइदिनेछु ।

3 कुनै मानिसले अझै अगमवाणी गरेमा, त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसलाई भन्‍नेछन्, ‘तँ बाँच्नेछैनस्, किनभने तैँले परमप्रभुको नाउँमा झुटो बोल्छस्!’ अनि त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन् ।

4 त्यस दिन हरेक अगमवक्ता, अगमवाणी गर्न लाग्दा आफ्नो दर्शनको कारण शर्ममा पर्नेछ । यी अगमवक्ताहरूले अब मानिसहरूलाई धोकामा पार्न रौँ भएका लबेदा लगाउनेछैनन् ।

5 किनभने हरेकले भन्‍नेछ, ‘म अगमवक्ता होइनँ! म त माटोमा काम गर्ने मानिस हुँ, किनकि म जवान हुँदादेखि नै भूमिमा नै मैले काम गर्न थालेँ!’

6 तर कसैले त्यसलाई भन्‍नेछ, ‘तेरा हातहरूका बिचमा भएका यी घाउ के हुन्?’ र त्यसले जवाफ दिनेछ, ‘म आफ्ना साथीभाइको घरमा हुँदा मलाईती चोट लागेका थिए ।’”

7 “ए तरवार! मेरो गोठालोको विरुद्ध उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । गोठालोलाई प्रहार गर्, र बगाल तितर-बितर हुनेछ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध म मेरो हात उठाउनेछु ।

8 र साराभूमिमा यस्तो हुनेछ - परमप्रभु घोषणा गर्नुहुन्छ, कि त्यसको दुई-तिहाइ भाग नाश हुनेछ! ती मानिसहरू नष्‍ट हुनेछन्, र एक-तिहाइमात्र बाँकी रहनेछ ।

9 म ती एक-तिहाइलाई आगोबाट लैजानेछु र तिनीहरूलाई चाँदीलाई झैँ निखार्नेछु । सुनलाई झैँ म तिनीहरूको परिक्षण गर्नेछु । तिनीहरूले मेरो नाउँ पुकार्नेछन्, र म तिनीहरूलाई जवाफ यस्तो दिनेछु, ‘यी मेरा मानिस हुन्!’ र तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ!’”

Everything we make is available for free because of a generous community of supporters.

Donate