Menu

जकरिया 8

ULB

1 परमप्रभुको यस्तो वचन मकहाँ आयो,

2 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म सियोनको निम्ति साह्रै डाही भएको छु र म त्यसको निम्ति डाही भएर अत्यन्तै रिसाएको छु!

3 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म सियोनमा फर्कनेछु र यरूशलेममा वास गर्नेछु, किनकि यरूशलेम सत्यको सहर भनिनेछ र सेनाहरूका परमप्रभुको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ!

4 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यरूशलेमका सडकहरूमा फेरि वृद्ध पुरुष र स्‍त्रीहरू हुनेछन्, र हरेक मानिस धेरै वृद्ध भएको हुँदा उसलाई आफ्नो हातमा एउटा लौरो आवश्यक पर्नेछ ।

5 त्यस सहरका सडकहरू खेल्ने केटा-केटीहरूले भरिनेछन् ।

6 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा बाँकी रहेका यी मानिसहरूका आँखामा केही कुरा असम्भव देखिएमा, के ती मेरो नजरमा पनि असम्भव हुन्छन् र? - परमप्रभु घोषणा गर्नुहुन्छ ।

7 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: हेर, सुर्योदय हुने र सुर्यास्त हुने भूमिबाट मैले मेरा मानिसहरूलाई बचाउन लागेको छु!

8 किनभने म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरू यरूशलेममा वास गर्नेछन्, अनि तिनीहरू फेरि मेरा मानिसहरू हुनेछन्, र सत्यता र धार्मिकतामा म तिनीहरूका परमेश्‍वर हुनेछु ।

9 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मेरो यस घरको जग बसालिँदा अगमवक्ताहरूको ओठबाट निस्केका वचनहरू जसले अहिले सुन्दछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ: आफ्ना हातहरू बलिया बनाओ, ताकि त्यो मन्दिर निर्माण गर्न सकियोस् ।

10 किनकि ती दिनहरूभन्दा पहिले कोहीले पनि फसल बटुल्दैन थिए, मानिस वा पशुको निम्ति त्यहाँ कुनै मुनाफा थिएन, र आउने र जाने कसैलाई पनि शत्रुहरूबाट शान्ति थिएन । मैले हरेक मानिसलाई त्यसको छिमेकीको विरुद्ध खडा गरेको थिएँ ।

11 तर म अब पहिलेका दिनमाझैँ हुन्‍न, म यी बाँकी रहेका मानिसहरूसँग हुनेछु - सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।

12 किनभने शान्तिको बीउ छरिनेछ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी: आकाशले शीत दिनेछ, किनभने यी बाँकी रहेका मानिसहरूलाई म यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु ।

13 ए यहूदा र इस्राएलको घराना,अन्य श्रापित जातिहरूमा तिमीहरू एउटा उदाहरण थियौ । यसैकारण म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिषको कारण हुनेछौ । नडराओ; तिमीहरूका हात बलियो बनाओ!

14 किनभने सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका पिता-पुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिनीहरूलाई हानी पुर्‍याउने योजना गरेर तिनीहरूप्रति दया देखाइनँ - परमप्रभु घोषणा गर्नुहुन्छ,

15 यी दिनहरूमा पनि म यरूशलेम र यहूदाको घरानालाई भलाइ गर्ने योजना गर्नेछु! नडराओ!

16 तिमीहरूले यी कामहरू गर्नुपर्छ: हरेक मानिसले आफ्नो छिमेकीसँग सत्य बोलोस् । आफ्नो इलाकामा सत्य, न्याय, र शान्तिसँग इन्साफ गर ।

17 आफ्नो हृदयमा एक अर्काको विरुद्धमा खराबी गर्ने योजना नबनाओ, र झुटा शपथलाई प्रेम नगर - किनभने यी कुराहरूलाई म घृणा गर्दछु! – परमप्रभु घोषणा गर्नुहुन्छ ।”

18 अनि सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो,

19 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: चौथो, साथौँ, र दशौँ महिनाका उपवासहरू यहूदाका घरानाको निम्ति आनन्द, हर्ष, र खुशीका पर्वहरूका समय हुनेछन्! यसैले सत्य र शान्तिलाई प्रेम गर!

20 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: विभिन्‍न सहरहरूमा बस्‍ने सबै मानिसहरू फेरि आउनेछन् ।

21 एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्‍नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ ।’

22 धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्!

23 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”

Everything we make is available for free because of a generous community of supporters.

Donate