Menu

1 कोरिन्थी 5

NCB

1 वास्तवमा तिमीहरूका बीचमा यौन अनैतिकता छ भन्‍ने खबर छ, यस्तो कुरा त गैरयहूदीहरूले पनि सहँदैनन्: एउटा पुरुषले आफ्नै बुबाकी पत्नीसँग अवैध सम्बन्ध राख्छ। 2 अनि तिमीहरू घमण्ड गर्छौ! तिमीहरूले त यस्तो कुरामा दुःखित हुनुपर्ने र यस्तो गर्ने मानिसलाई तिमीहरूको सङ्गतिबाट निकालिदिनुपर्ने होइन र? 3 म शरीरमा तिमीहरूका बीचमा उपस्थित नभए तापनि आत्मामा म तिमीहरूसँगै छु। अनि म तिमीहरूसँग उपस्थित भएझैँ, यस्तो घिनलाग्दो काम गरिरहेको मानिसलाई मैले प्रभु येशूको नाममा अगि नै न्याय गरिसकेको छु। 4 जब तिमीहरू हाम्रा प्रभु येशूको नाममा भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु, र हाम्रा प्रभु येशूको शक्तिको उपस्थिति त्यहाँ हुन्छ। 5 त्यस मानिसलाई शरीरको विनाशको निम्ति शैतानको हातमा सुम्पिदेओ, ताकि प्रभुको दिनमा उसको आत्माचाहिँ बाँचोस्। 6 तिमीहरूको घमण्ड राम्रो होइन। अलिकति खमिरले सबै पिठोको ढिकालाई खमिर बनाइदिन्छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? 7 पुरानो खमिरलाई फालिदेऊ, ताकि तिमीहरू खमिरविनाको नयाँ मुछेको ढिका बन्‍न सक, जुन वास्तवमा तिमीहरू हौ। किनकि हाम्रो निस्तार चाडको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ। 8 यसकारण हामी कुकर्म र दुष्‍टतासहितको पुरानो खमिरको रोटीले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीले चाड मनाऔँ। 9 मेरो पत्रमा तिमीहरूलाई यौन अनैतिक व्यक्तिहरूको सङ्गत नगर्नू भनी मैले लेखेको थिएँ; 10 तर त्यसको अर्थ यस संसारका अनैतिक व्यक्तिहरू, लोभीहरू र ठगहरू अथवा मूर्तिपूजकहरूसँग सङ्गत नगर्नू भनेको चाहिँ होइन। त्यसो भए त तिमीहरूले यो संसारै छोडेर जानुपर्ने हुन्छ। 11 तर अहिले म तिमीहरूलाई यो लेखिरहेको छु, तिमीहरूले यस्तो व्यक्तिसँग सङ्गत नगर, जो विश्‍वासी भनी दाबी त गर्छ, तर पनि यौन अनैतिक वा लोभी, मूर्तिपूजक वा गाली गर्ने, मतवाला वा ठगी छ। त्यस्तो व्यक्तिसँग खाँदै नखानू। 12 मण्डली बाहिर रहेकाहरूलाई न्याय गर्नु मलाई के खाँचो छ? तर के तिमीहरूले मण्डली भित्रकाहरूलाई न्याय गर्नुपर्दैन? 13 परमेश्‍वरले नै बाहिरकाहरूलाई न्याय गर्नुहुनेछ। “दुष्‍ट मानिसलाई तिमीहरूका बीचबाट निकालिदेओ।"

Everything we make is available for free because of a generous community of supporters.

Donate