Menu

1 कोरिन्थी 6

NCB

1 यदि तिमीहरूमध्ये कसैको अर्को व्यक्तिसँग विवाद छ भने के तिमीहरूले न्यायका निम्ति प्रभुका जनहरूकहाँ नगएर सांसारिक न्यायाधीशकहाँ जाने आँट गर्दछौ? 2 प्रभुका जनहरूले संसारको न्याय गर्नेछन् भन्‍ने के तिमीहरू जान्दैनौ? यदि तिमीहरूद्वारा संसारको न्याय हुन्छ भने के तिमीहरूमा यस्तो स-साना मुद्दा-ममिलाहरूको न्याय गर्ने क्षमता छैन र? 3 हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ, के तिमीहरू यो कुरा जान्दैनौ? त्यसो भए हाम्रो यस जीवनमा हुने यी कुराहरू कति नै ठूला हुन् र? 4 यसकारण तिमीहरूमा यस्ता विवादका मुद्दाहरू छन् भने मण्डलीमा कुनै असल गवाही नभएकाहरूलाई न्याय गर्नका निम्ति बिन्ती गर्छौ र? 5 मैले तिमीहरूलाई लाज लागोस् भनेर यो कुरा भनेको हुँ। के तिमीहरूका बीचमा विश्‍वासीहरू बीचको वाद-विवाद मिलाउन सक्ने बुद्धिमान् व्यक्ति कोही छैन? 6 तर यसको सट्टामा एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्छौ, र त्यो पनि अविश्‍वासीहरूको सामु! 7 तिमीहरूका बीचमा मुद्दा-मामिला हुनुको अर्थ तिमीहरूको हार पूर्ण रूपमा पहिले नै भइसकेको छ। बरु तिमीहरूले अन्याय किन सहँदैनौ? बरु आफू ठगिएर नै किन बस्दैनौ? 8 तर यसको सट्टामा तिमीहरू स्वयम् अन्याय गर्दछौ, र ठग्दछौ। अनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई त्यही गर्दछौ। 9 दुष्‍ट काम गर्नेहरू परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन् भनेर के तिमीहरूलाई थाहा छैन? धोकामा नपर: न यौन अनैतिक व्यक्तिहरू, न मूर्तिपूजकहरू, न व्यभिचारीहरू, न समलिङ्गीहरू, 10 न चोरहरू, न लोभीहरू, न मतवालाहरू, न निन्दा गर्नेहरू, न त लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछन्। 11 तिमीहरूमध्ये कति जना यस्तै थियौ। तर तिमीहरू हाम्रा परमेश्‍वरको आत्माद्वारा र प्रभु येशू ख्रीष्‍टको नाममा धोइएका छौ; तिमीहरू पवित्र पारिएका छौ र निर्दोष ठहराइएका छौ। 12 “मेरो लागि सबै कुरा उचित छन्” तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। “मेरो लागि सबै कुरा उचित छन्,” तर म कुनै कुराको पनि सेवक हुनेछैनँ। 13 तिमी भन्दछौ, “पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्‍वरले यी दुवैलाई नष्‍ट गर्नुहुनेछ।” हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो; अनि प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ। 14 परमेश्‍वरले आफ्नो शक्तिद्वारा प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, र उहाँले आफ्नो शक्तिद्वारा हामीलाई पनि जीवित पार्नुहुनेछ। 15 के तिमीहरूलाई थाहा छैन, तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन्? त्यसो भए के म ख्रीष्‍टका अङ्गहरूलाई लिएर वेश्यासँग एक बनाउने त? कदापि हुँदैन! 16 के तिमीहरूलाई थाहा छैन, जसले आफूलाई वेश्यासँग जोड्छ, ऊ त्यो वेश्यासँग शरीरमा पनि एक हुन्छ? किनकि यसरी लेखिएको छ, “ती दुई एउटै शरीर हुनेछन्।" 17 तर जसले आफूलाई प्रभुसँग जोडेको हुन्छ, त्यो आत्मामा उहाँसँग एक भएको हुन्छ। 18 तिमीहरू यौन अनैतिकताबाट अलग बस। अरू सबै पापहरू मानिसले आफ्नो शरीर बाहिर गर्छ, तर जसले यौन सम्बन्धमा पाप गर्छ, त्यसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ। 19 के तिमीहरू जान्दैनौ, तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्‍वरबाट प्राप्‍त गरेका छौ? तिमीहरू आफ्नै होइनौ; 20 किनभने तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्‍वरको आदर गर।

Everything we make is available for free because of a generous community of supporters.

Donate