Menu

यर्मिया 24

NCB

1 यहूदाका राजा यहोयाकीमको छोरा, यहोयाकीन र अधिकारीहरू, यहूदाका कारिगरहरू र शिल्पकारहरूलाई, बेबिलोनको राजा नबूकदनेसरले यरूशलेमबाट बेबिलोनको निर्वासनमा लगेपछि याहवेहले मलाई याहवेहको मन्दिरको सामु राखिएका दुई डाला नेभाराहरू देखाउनुभयो। 2 एउटा डालोमा पहिले पाकेका खूब असल नेभाराहरू थिए; अर्को डालोमा चाहिँ अति नराम्रा नेभाराहरू थिए। ती खानै नसकिने अति खराब थिए। 3 तब याहवेहले मलाई सोध्नुभयो, “यर्मिया, तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म नेभाराहरू देख्दैछु। राम्रा नेभाराहरू अति राम्रा छन्, तर नराम्राहरूचाहिँ खानै नसकिने खराब छन्।" 4 त्यसपछि याहवेहको वचन मकहाँ आयो: 5 “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म यहूदाका मानिसहरूलाई यी असल नेभाराहरूजस्ता ठान्छु, जसलाई मैले यस ठाउँबाट बेबिलोनीहरूको देशमा निर्वासनमा पठाएको थिएँ। 6 तिनीहरूको भलाइका निम्ति म मेरो दृष्‍टि तिनीहरूमाथि लगाउनेछु, र म तिनीहरूलाई यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ। 7 म तिनीहरूलाई म नै याहवेह हुँ भनी जान्‍ने हृदय दिनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु; किनभने तिनीहरू आफ्ना सम्पूर्ण हृदयले मतिर फर्कनेछन्। 8 " ‘याहवेह घोषणा गर्नुहुन्छ, तर ती खानै नसकिने धेरै खराब नराम्रा नेभाराहरूजस्तै, म यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू र यरूशलेमबाट बाँचेकाहरूसँग ती नेभाराहरूलाई जस्तै व्यवहार गर्नेछु, चाहे तिनीहरू यस देशमा रहून्, अथवा इजिप्टमै रहून्। 9 म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति अति घृणित र अपमानित तुल्याउनेछु। मैले तिनीहरूलाई निकालेर जहाँ-जहाँ खेदे तापनि तिनीहरूलाई निन्दा, श्राप र गिल्‍लाको पात्र तुल्याउनेछु। 10 मैले तिनीहरू र तिनीहरूका पितापुर्खाहरूलाई दिएको देशबाट तिनीहरू पूरै नाश नभएसम्म म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र महामारी पठाउनेछु।’ “

Everything we make is available for free because of a generous community of supporters.

Donate