यर्मिया 25
NCB1 योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको शासनकालको चौथो वर्षमा, जुन बेबिलोनका राजा नबूकदनेसरको शासनकालको पहिलो वर्ष थियो; अनि यहूदाका सबै मानिसहरूका बारेमा यर्मियाकहाँ यो वचन आयो। 2 यसकारण अगमवक्ता यर्मियाले यहूदाका सबै मानिसहरू र यरूशलेममा बसोबास गर्ने सबैलाई भने: 3 यहूदाका राजा आमोनका छोरा, योशियाहको तेह्रौँ वर्षदेखि आजको दिनसम्म, तेईस वर्ष भयो—आजको दिनसम्म याहवेहको वचन मकहाँ आएको छ; अनि म तिमीहरूसित बारम्बार बोलिरहेको छु, तर तिमीहरूले ध्यान दिएर सुनेका छैनौ। 4 अनि याहवेहले आफ्ना सबै सेवकहरू अर्थात् अगमवक्ताहरूलाई तिमीहरूकहाँ बारम्बार पठाउनुभए तापनि तिमीहरूले सुनेका छैनौ, अथवा ध्यानै दिएका छैनौ। 5 अगमवक्ताहरूले भने, “तिमीहरू हरेक आफ्ना दुष्ट मार्गहरू र तिमीहरूका खराब चालचलनहरूबाट फर्क; अनि याहवेहले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा तिमीहरू सदाकालको निम्ति बस्न पाउनेछौ। 6 तिमीहरू अन्य देवताहरूको सेवा गर्न र तिनीहरूलाई पुज्नलाई पछि नलाग; तिमीहरूका हातले बनाएका मूर्तिहरूको कारणले मेरो रिस नउठोस्। तब म तिमीहरूको हानि गर्नेछैनँ।" 7 याहवेह घोषणा गर्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा सुनेनौ र तिमीहरूले आफ्ना हातले बनाएका मूर्तिहरूले मलाई रिस उठायौ; यसरी तिमीहरूले आफूमाथि नोक्सानी ल्यायौ।" 8 यसकारण सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले मेरा कुरा नसुनेको हुनाले, 9 म उत्तरका सबै जातिहरूलाई र मेरो सेवक बेबिलोनका राजा नबूकदनेसरलाई बोलाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ, “अनि म तिनीहरूलाई यो देश र यस देशका बासिन्दाहरूको विरुद्धमा र वरिपरिका सबै राष्ट्रहरूको विरुद्धमा भेला गराउनेछु। म तिनीहरूलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु; म तिनीहरूलाई त्रास, हाँसो र अनन्त विनाशको पात्र बनाउनेछु। 10 म तिनीहरूबाट हर्ष र आनन्दको सोर, दुलहा र दुलहीको आवाज, जाँतो पिँधेको आवाज र बत्तीको उज्यालोलाई हटाइदिनेछु। 11 यो समस्त देश उजाड र बाँझो भूमि हुनेछ; अनि यी राष्ट्रहरूले सत्तरी वर्षसम्म बेबिलोनको राजाको सेवा गर्नेछन्। 12 “तर जब सत्तरी वर्ष पूरा हुन्छ, तब म बेबिलोनको राजा र त्यसको राज्य बेबिलोनीहरूको देशलाई तिनीहरूको अपराधको कारण दण्ड दिनेछु; अनि त्यस देशलाई सधैँका निम्ति उजाड पारिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 13 “म बेबिलोनमाथि मैले यसको विरुद्धमा बोलेका सबै कुराहरू, यस पुस्तकमा लेखिएका सबै कुराहरू र यर्मियाले राष्ट्रहरूको विरुद्धमा गरेका अगमवाणीहरू बेबिलोनमा ल्याउनेछु। 14 तिनीहरू आफैँ पनि धेरै राष्ट्रहरू र महान् राजाहरूद्वारा दास तुल्याइनेछन्; म तिनीहरूलाई तिनीहरूकै हातका कामहरू र कर्महरू अनुसार बदला लिनेछु।" 15 याहवेह, इस्राएलका परमेश्वरले मलाई यसो भन्नुभयो: “मेरो क्रोधको मद्यले भरिएको यो कचौरा मेरो हातबाट लि, र मैले तँलाई पठाएका सबै राष्ट्रहरूलाई यो पिउन दे। 16 जब तिनीहरूले यो पिउनेछन्, तब मैले तिनीहरूका बीचमा पठाउने तरवारको कारण तिनीहरू धरमराउनेछन् र बौलाहा हुनेछन्।" 17 यसकारण मैले त्यो कचौरा याहवेहको हातबाट लिएँ, र उहाँले मलाई पठाउनुभएका सबै जातिहरूलाई पिउन दिएँ: 18 सुरुमा मैले यरूशलेम र यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई त्रास र घृणा तथा सरापको पात्र बनाउनलाई कचौराबाट पिउन लगाएँ। तिनीहरू आज त्यस्तै अवस्थामा छन्; 19 त्यसपछि इजिप्टका राजा फारो र त्यसका कर्मचारीहरू, त्यसका अधिकारीहरू र त्यसका सबै मानिसहरू; 20 अनि त्यहाँ रहेका सबै विदेशी मानिसहरू; अनि ऊज देशका सबै राजाहरू; पलिश्तीका सबै राजाहरू (अश्कलोन, गाजा, एक्रोन र अश्दोदमा छोडिएका सबै मानिसहरू); 21 एदोम, मोआब र अम्मोन; 22 टायर र सीदोनका सबै राजाहरू; भूमध्य सागरको किनारका सबै राजाहरू; 23 ददान, तेमा, बूज र टाढा ठाउँहरूमा भएका सबै मानिसहरू ; 24 अरब देशका सबै राजाहरू र मरुभूमिमा बस्ने विदेशी मानिसहरूका सबै राजाहरू; 25 जिम्री, एलाम र मादीका सबै राजाहरू; 26 अनि टाढा र नजिकमा रहेका उत्तरका सबै राजाहरू, एकपछि अर्कालाई—पृथ्वीमा भएका सबै राज्यहरूलाई पिउन दिएँ। अनि यी माथिका सबै राजाहरू र जातिहरूपछि शेशकका राजाले पनि त्यो कचौराबाट पिउनेछ। 27 “तब तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: पिओ, मात र बान्ता गर! अनि मैले तिमीहरूका लागि पठाउन लागेको तरवारको कारण कहिल्यै उठ्न नसक्ने गरी लोट।’ 28 तर यदि तिनीहरूले तेरो हातका कचौराबाट पिउन इन्कार गरे भने तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: तिमीहरूले यो पिउनैपर्छ! 29 हेर, म मेरो नाम बोकेको सहरमाथि विपत्ति ल्याउने काम सुरु गर्दैछु; अनि के तिमीहरू दण्डविना उम्कन सक्छौ? तिमीहरू दण्डविना उम्कनेछैनौ; किनकि म यस पृथ्वीमा भएका सबै मानिसहरूमाथि तरवार पठाउँदैछु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।’ 30 “अब तिनीहरू सबैको विरुद्धमा अगमवाणी गर्, र तिनीहरूलाई भन्: " ‘याहवेह उचाइबाट गर्जनुहुनेछ; उहाँ आफ्नो पवित्र वासस्थानबाट मेघ गर्जनजस्तै गर्जनुहुनेछ, र आफ्नो देशको विरुद्धमा अति जोडसँग गर्जनुहुनेछ। उहाँ पृथ्वीमा बस्ने सबै मानिसहरूको विरुद्धमा, अङ्गुर पेल्ने मानिसहरूजस्तो जोडसित चिच्याउनुहुनेछ। 31 मानिसहरूको होहल्लाको खैलाबैला पृथ्वीको पल्लो छेउहरूसम्म गुञ्जिनेछ; किनकि याहवेहले राष्ट्रहरूको विरुद्धमा अभियोग लगाउनुहुनेछ; उहाँले सबै मानव-जातिमाथि न्याय ल्याउनुहुनेछ, र दुष्टहरूलाई तरवारले मार्नुहुनेछ,’ " याहवेह घोषणा गर्नुहुन्छ। 32 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “हेर, एक राष्ट्रदेखि अर्को राष्ट्रसम्म विपत्ति फैलिनेछ; पृथ्वीको पल्लो छेउबाट एउटा शक्तिशाली आँधीबेहरी उठ्दैछ।" 33 त्यस बेला याहवेहद्वारा मारिएकाहरूको मृत शरीर पृथ्वीको एक छेउबाट अर्को छेउसम्म चारैतिर हुनेछन्। तिनीहरूका निम्ति न त शोक गरिनेछ, न त तिनीहरू गाडिनेछन्, तर तिनीहरू भुइँमा छरिएको मलजस्तै हुनेछन्। 34 हे गोठालाहरू हो, रोओ, विलाप गर; हे बगालका अगुवाहरू हो, धुलोमा लडीबुडी गर। किनकि तिमीहरूको मारिने समय आएको छ; तिमीहरू असल भेडा ढलेझैँ ढल्नेछौ, 35 गोठालाहरू भागेर जाने ठाउँ कहीँ पनि हुनेछैन; बगालका अगुवाहरू उम्कने ठाउँ कहीँ पनि हुनेछैन। 36 गोठालाहरूको दुःखको बिलौना सुन, बगालका अगुवाहरूका विलाप सुन; किनकि याहवेहले तिनीहरूका खर्क नष्ट गर्नुहुँदैछ। 37 याहवेहको भयानक क्रोधको कारण शान्तिपूर्ण चरनहरू उजाड हुनेछन्। 38 उहाँले सिंहले झैँ आफ्नो ओडार छोड्नुहुनेछ; अत्याचारीको तरवारको कारण र याहवेहको भयानक क्रोधको कारण तिनीहरूको देश उजाड हुनेछ।
