भजनसंग्रह 22
NCB1 हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ? मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ? 2 हे मेरा परमेश्वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्न; रातमा पनि मलाई विश्राम छैन। 3 तरै पनि तपाईं पवित्र परमेश्वर, सिंहासनमा विराजमान हुनुहुन्छ; इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ। 4 हाम्रा पितापुर्खाले तपाईंमा नै भरोसा राखेका थिए; तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा गर्नुभयो। 5 तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले बचाउनुभयो; तिनीहरूले तपाईंमाथि भरोसा गरे, र शर्ममा परेनन्। 6 तर म त मानिस होइनँ, एउटा किरा मात्र हुँ; सबैबाट गिल्ला गरिएको र मानिसहरूद्वारा अपमानित गरिएको। 7 मलाई देख्नेहरू सबैले मेरो गिल्ला गर्दछन्; तिनीहरूको टाउको हल्लाउँदै अपमान गर्दै भन्दछन्: 8 “त्यसले याहवेहमा भरोसा गर्दछ, याहवेहले नै त्यसलाई बचाऊन्; किनकि त्यसले उहाँमा नै रमाहट गर्दछ, उहाँले नै त्यसलाई छुटकारा देऊन्।" 9 तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो; म मेरी आमाको कोखमा बालक हुँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने तुल्याउनुभयो। 10 मेरो जन्मदेखि नै म तपाईंमा सुम्पिएको हुँ; आमाको गर्भदेखि नै तपाईं मेरो परमेश्वर हुनुहुन्छ। 11 मबाट टाढा नहुनुहोस्; किनकि सङ्कष्ट मेरो नजिकै छ, र मलाई सहायता गर्ने कोही पनि छैन। 12 धेरै साँढेहरूले मलाई घेरेका छन्; बाशानका बलिया साँढेहरू मेरा चारैपट्टि छन्। 13 गर्जने सिंहहरू, जसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दछन्, तिनीहरू नै मेरा विरुद्धमा आफ्ना मुख बाउँछन्। 14 म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीहरू जोर्नीबाट खुस्केका छन्; मेरो हृदय मैनजस्तै भएको छ; त्यो मभित्रै पग्लेको छ। 15 मेरो शक्ति माटोको खपेटोजस्तै सुकेको छ, र मेरो जिब्रो तालुमा टाँसिएको छ; तपाईंले मलाई मृत्युको धुलोमा छोडिदिनुभएको छ। 16 कुकुरहरूले मलाई चारैतिर घेरेका छन्; खराब मानिसहरूको झुण्डले मलाई चारैपट्टि घेरेका छन्; तिनीहरूले मेरा हात र खुट्टाहरू छेडेका छन्। 17 मेरा सबै हाडहरू म गन्न सक्छु; मानिसहरूले मलाई एकोहोरो लगाएर खराब दृष्टिले हेर्छन्। 18 तिनीहरूले मेरा बाहिरी वस्त्रहरू एक-आपसमा बाँड्छन्, र मेरो भित्री वस्त्रको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। 19 तर हे याहवेह, तपाईं मबाट टाढा नहुनुहोस्! तपाईं मेरो बल, चाँडो आएर मलाई सहायता गर्नुहोस्! 20 तरवारबाट मलाई बचाउनुहोस्; र मेरो अमूल्य जीवन कुकुरहरूका पञ्जाबाट छुटाउनुहोस्। 21 सिंहहरूका मुखबाट मेरो छुटकारा गर्नुहोस्; जङ्गली साँढेहरूका सिङबाट मलाई बचाउनुहोस् । 22 म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तपाईंको नाम घोषणा गर्नेछु; मानिसहरूको भेलामा म तपाईंको प्रशंसा गर्नेछु। 23 तिमीहरू, जो याहवेहको भय मान्दछौ, उहाँको प्रशंसा गर! याकोबका सबै वंशहरू हो, उहाँको आदर गर! हे इस्राएलका सबै सन्तानहरू हो, उहाँको भय मान! 24 किनकि उहाँले दुःखीहरूको पीडालाई तुच्छ मान्नुभएको वा अवहेलना गर्नुभएको छैन; उहाँले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभएको छैन, तर मदतको निम्ति तिनीहरूको पुकार उहाँले सुन्नुभएको छ। 25 ठूलो महासभामा मेरो प्रशंसाको विषय तपाईं नै हुनुहुन्छ; तपाईंको भय मान्नेहरूका सामु म आफ्नो भाकल पूरा गर्नेछु। 26 गरिबहरू खाएर तृप्त हुनेछन्; याहवेहलाई खोज्नेहरूले उहाँको प्रशंसा गर्नेछन्, तिनीहरूका हृदय आनन्दले सदासर्वदा रमाउनेछ। 27 पृथ्वीका अन्त्यसम्म रहने समस्त मानिसले याहवेहलाई सम्झना गर्नेछन्, र उहाँतर्फ फर्किनेछन्; र राष्ट्रहरूका सबै परिवारहरू उहाँको सामु निहुरिएर दण्डवत् गर्नेछन्। 28 किनकि शासन याहवेहको हो, र उहाँले नै राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ। 29 पृथ्वीका सबै धनीहरू भोजन गर्दै उहाँको आराधना गर्नेछन्; जो धुलोमा मिलिजानेछन्, ती सबैले उहाँको सामु घुँडा टेक्नेछन्; जस-जसले आफूलाई बचाउन सक्दैनन्। 30 पछि आउने पुस्ताले उहाँको सेवा गर्नेछन्; भावी सन्तानहरूलाई प्रभुको बारेमा बताइनेछ। 31 तिनीहरूले भावी पुस्तालाई उहाँले गर्नुभएको धार्मिकताको घोषणा गर्नेछन्; उहाँले यस्तो अद्भुत काम गर्नुभएको छ!
