भजनसंग्रह 47
NCB1 हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ; उच्च सोरले परमेश्वरको निम्ति जयजयकार गर! 2 सर्वोच्च याहवेह कस्तो महान् हुनुहुन्छ, सारा पृथ्वीभरिका महाराजा। 3 उहाँले राष्ट्रहरूलाई हाम्रा अधीनमा, र जाति-जातिहरूलाई हाम्रा पैतालामुनि पार्नुभएको छ। 4 उहाँले हाम्रा निम्ति उत्तराधिकारको भाग छान्नुभयो, याकोबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। सेला 5 परमेश्वर आनन्दको सोरसित, याहवेह तुरहीको आवाजसित माथि उक्लनुभएको छ। 6 परमेश्वरको निम्ति गीत गाओ, गीत गाओ; हाम्रा राजाको निम्ति गीत गाओ, गीत गाओ! 7 किनकि परमेश्वर सारा पृथ्वीका राजा हुनुहुन्छ; उहाँको निम्ति प्रशंसाको भजन गाओ! 8 परमेश्वरले राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ; परमेश्वर उहाँको पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ। 9 अब्राहामका परमेश्वरका मानिसहरूझैँ राष्ट्रहरूका श्रेष्ठ व्यक्तिहरू भेला भएका छन्; किनकि पृथ्वीका शासकहरू परमेश्वरकै हुन्; परमेश्वर अति उच्च हुनुहुन्छ।
