भजनसंग्रह 48
NCB1 हाम्रा परमेश्वरको सहरमा, उहाँको पवित्र पर्वतमा, याहवेह महान् र प्रशंसाको योग्य हुनुहुन्छ। 2 उचाइमा सुन्दर, सारा पृथ्वीको आनन्द सियोन पर्वत हो, जो सापोनको उचाइझैँ छ, जो हाम्रा महाराजाको सहर हो। 3 तिनका किल्लाहरूमा परमेश्वर हुनुहुन्छ; तिनका रक्षक परमेश्वर आफैँ हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ। 4 जब राजाहरूले एकसाथ दल बाँधे; जब तिनीहरूसँगै अगि बढे, 5 तिनीहरूले तिनलाई देखे; र तिनीहरू छक्क परे; तिनीहरू डराएर भागे। 6 तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे, प्रसवपीडामा भएकी स्त्रीजस्तै तिनीहरू पीडामा परे। 7 तर्शीशको जहाजहरूलाई झैँ तपाईंले तिनीहरूलाई पूर्वीय बतासले नष्ट पार्नुभयो। 8 सेनाहरूका याहवेहको सहरमा, हाम्रा परमेश्वरको नगरमा, जस्तो हामीले सुनेका थियौँ, त्यस्तै देखेका छौँः परमेश्वरले तिनलाई सदासर्वदा सुरक्षित राख्नुहुन्छ। सेला 9 हे परमेश्वर, तपाईंको मन्दिरभित्र, हामी तपाईंको अचुक प्रेमको ध्यान गर्छौँ। 10 हे परमेश्वर, तपाईंको नामजस्तै, तपाईंको प्रशंसा पृथ्वीको छेउसम्मै पुग्दछ; तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ। 11 तपाईंका सही न्यायहरूका कारण, सियोन पर्वत आनन्दित हुन्छ; यहूदाका सहरहरू हर्षित हुन्छन्। 12 सियोनको चारैतिर हिँड, र यसको परिक्रमा गर; यसका धरहराहरू गन, 13 यसको सुरक्षाको पर्खालहरूमाथि ध्यानसाथ हेर; यसका किल्लाहरूमाथि दृष्टि लगाओ; तब तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा राम्ररी वर्णन गर्न सक्छौ। 14 किनकि यिनै परमेश्वर हाम्रा सदासर्वदाका परमेश्वर हुनुहुन्छ; अनन्तसम्मै उहाँले हामीलाई अगुवाइ गर्नुहुनुहुनेछ।
