भजनसंग्रह 50
NCB1 याहवेह, सर्वशक्तिशाली परमेश्वर बोल्नुहुन्छ, र पृथ्वीका मानिसहरूलाई सूर्योदयदेखि सूर्यास्तसम्म बोलाउनुहुन्छ। 2 सुन्दरतामा सियोनबाट सिद्ध, परमेश्वर प्रकाशमान् हुनुभएको छ। 3 हाम्रा परमेश्वर आउनुहुन्छ, र शान्त बस्नुहुनेछैन; उहाँको अगि भस्म पार्ने आगो छ, र उहाँको चारैपट्टि ठूलो आँधीबेहरी छ। 4 आफ्ना मानिसहरूका न्याय गर्न परमेश्वरले माथिको आकाश र तलको पृथ्वीलाई बोलाउनुहुन्छ: 5 “मेरा समर्पित मानिसहरू मकहाँ भेला गराओ, जसले बलिद्वारा मसँग करार बाँधेका छन्।" 6 स्वर्गले उहाँको धार्मिकता घोषणा गर्छ; किनकि उहाँ नै न्यायको परमेश्वर हुनुहुन्छ। सेला 7 “हे मेरा मानिसहरू हो, सुन, र म तिमीहरूसँग बोल्नेछु; हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु: म परमेश्वर, तेरा परमेश्वर हुँ। 8 म तँलाई तेरो बलिदानहरूका बारेमा दोष दिन्नँ, वा तेरो होमबलिहरूको बारेमा, जो सधैँ मेरो सामु छन्। 9 मलाई तेरो गोठबाट साँढेको, वा तेरो खोरहरूबाट बोकाको आवश्यकता छैन; 10 किनकि सम्पूर्ण जङ्गली पशुहरू मेरै हुन्, र हजारौँ डाँडाहरूका पशुप्राणी मेरै हुन्। 11 म पहाडहरूका हरेक पक्षीलाई चिन्दछु; भूमिका सबै प्राणीहरू मेरै हुन्। 12 यदि म भोकै भए तापनि तँलाई भन्नेथिइनँ; किनकि संसार मेरै हो, र त्यसमा भएका सबै थोक पनि मेरै हुन्। 13 के म साँढेहरूको मासु खान्छु? अथवा बोकाहरूको रगत पिउँछु र? 14 “परमेश्वरको निम्ति धन्यवादको बलि चढा, र सर्वोच्च परमेश्वरलाई गरेको तेरो भाकल पूरा गर्। 15 सङ्कष्टको दिनमा मलाई पुकार्; म तँलाई छुटाउनेछु, र तैँले मलाई महिमा दिनेछस्।" 16 तर परमेश्वरले दुष्टलाई भन्नुहुन्छ: “तैँले मेरो व्यवस्था पाठ गर्ने के हक छ? अथवा मेरो करारको कुरा गर्ने के अधिकार छ? 17 मेरो शिक्षालाई तैँले घृणा गर्छस्, र मेरा आज्ञाहरूलाई इन्कार गर्छस्। 18 जब चोरलाई देख्दा तँ चोरकै साथी बन्छस्; व्यभिचारीहरूसँग सहभागी हुन्छस्। 19 तेरो मुख खराबी कुरा बोल्नलाई प्रयोग गर्छस्, र तेरो जिब्रोलाई छली कुरा गर्नलाई चलाउँछस्। 20 तँ बस्छस्, र आफ्नै भाइको विरुद्धमा गवाही दिन्छस्; तँ आफ्नै साक्खै भाइलाई दोष लगाउँछस्। 21 तैँले यी सबै कुराहरू गरिस्, र म चुप रहेँ; तैँले मलाई पूर्णतया आफूजस्तै ठानिस्; तर अब म तँलाई हप्काउनेछु, र तेरै मुखको अगि तेरो दोष देखाउनेछु। 22 “हे परमेश्वरलाई बिसर्नेहरू हो, यो कुरा राम्ररी विचार गर; नत्रता म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूलाई छुटाउने कोही पनि हुनेछैन: 23 धन्यवादको बलिदान चढाउनेहरूले नै मेरो आदर गर्दछन्, जसले आफ्नो मार्ग सुधार्छ, म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु।"
