भजनसंग्रह 49
NCB1 हे सबै जाति-जातिहरू हो, यो सुन; हे संसारका बासिन्दाहरू हो, सुन; 2 साना र ठूला दुवै, धनी र गरिब सबै ध्यान देओ: 3 मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ; मेरो हृदयका चिन्तनले समझशक्ति प्रदान गर्नेछ। 4 म हितोपदेशमा ध्यान लगाउनेछु; वीणा बजाएर उखानको अर्थ खोल्नेछु। 5 दुष्ट छलीहरूले मलाई घेर्दा, दुःखका दिनहरू आउँदा म किन डराउने, 6 तिनीहरू, जसले आफ्नो सम्पत्तिमाथि भरोसा राख्छन्, र आफ्नो ठूलो धनसम्पत्तिको घमण्ड गर्छन्। 7 कुनै पनि मानिसले कसैको प्राणको उद्धार गर्न सक्दैन, न त परमेश्वरलाई आफ्नो जीवनको लागि मोल नै दिन सक्छ। 8 जीवनको मूल्य धेरै मूल्यवान् हुन्छ; कसैको धनले तिरेर कहिल्यै पुग्दैन। 9 कोही पनि यस्तो मानिस छैन, जो सधैँ जीवित रहन्छ, र कहिल्यै कुहुनुपर्दैन । 10 किनकि सबैलाई थाहा छ, बुद्धिमान् मानिसहरू मर्छन्; मूर्ख र विवेकहीन मानिसहरू पनि मर्छन्, तिनीहरूका धनसम्पत्ति अरूहरूका लागि छोड्छन्। 11 तिनीहरूको निम्ति चिहान नै सदासर्वदाको घर हुन्छ; पुस्तौँसम्म ती तिनीहरूका वासस्थान हुनेछन्, यद्यपि तिनीहरूले आफ्नो जमिन आफ्नै नाममा राखेका थिए। 12 मानिसहरू महान् भए तापनि सधैँभरि जीवित रहन सक्दैनन्; तिनीहरू नष्ट हुने पशुजस्तै छन्। 13 आफूमाथि भर पर्ने ती सबैको गति यस्तै हुन्छ, र तिनीहरूको कुराहरूलाई समर्थन गरेर तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। सेला 14 भेडाहरूजस्तै तिनीहरूको अन्त्य मृत्यु हुन्छ; मृत्यु तिनीहरूको गोठालो हुनेछ (तर बिहानै धर्मीहरूले तिनीहरूमाथि शासन गर्नेछन्)। तिनीहरूका भौतिक शरीर चिहानमा कुहेर जानेछ; तिनीहरूका राजकीय महलदेखि टाढा। 15 तर परमेश्वरले मेरो प्राणलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ; निश्चय नै उहाँले मलाई आफूसँग लिनुहुनेछ। 16 नडराओ, जब अरू कोही धनी हुन्छन्, जब तिनीहरूको घरको गौरव बढ्छ; 17 किनकि तिनीहरू मरेर जाँदा तिनीहरूले आफूसँग केही पनि लैजान सक्दैनन्; तिनीहरूको गौरव तिनीहरूसँग चिहानमा जाँदैन। 18 तिनीहरूले जीवित हुँदा आफूलाई धन्यको ठाने तापनि— र तिम्रो उन्नति हुँदा मानिसहरूले तिम्रो प्रशंसा गर्छन्— 19 तिनीहरू पहिल्यै मरेका आफ्ना पितापुर्खाहरूका पुस्ताकहाँ मिल्न जानेछन्; जसले जीवनको ज्योति फेरि कहिल्यै देख्नेछैनन्। 20 जोसँग धनसम्पत्ति छ, तर समझशक्ति छैन भने ती मानिसहरू नष्ट हुने पशुजस्तै हुन्।
