Menu

उत्पत्ति 9

ULB

1 त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्‍नुभयो, “फल्‍दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ ।

2 जमिनमा चलहल गर्ने हरेक जीवित प्राणी, आकाशका हरेक पक्षी, जमिनमा घस्रने हरेक जन्तु र समुद्रका सबै माछामाथि तिमीहरूको डर र त्रास रहनेछ । ती तिमीहरूका हातमा सुम्पिएका छन् ।

3 हरेक चलहल गर्ने प्राणी तिमीहरूका निम्ति भोजन हुनेछन् । मैले तिमीहरूलाई हरिया वनस्पतिहरू दिएजस्तै अब म तिमीहरूलाई सबै थोक दिन्छु ।

4 तर तिमीहरूले मासु त्यसको प्राण दिने रगतसमेत नखाओ ।

5 तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु । हरेक पशुबाट म प्राणको साटो लिनेछु । आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु ।

6 जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।

7 तिमीहरूचाहिँ पृथ्वीमा फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ ।”

8 त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो,

9 “मेरो कुरा सुन! तिमीहरू र तिमीहरूपछि आउने तिमीहरूका सन्तानहरू, तिमीहरूसँगै भएका हरेक जीवित प्राणी अर्थात्

10 पक्षीहरू, पालिने पशुहरू र जहाजबाट बाहिर आउनेदेखि पृथ्वीमा भएका हरेक जीवित प्राणीसित म मेरो करार स्थापित गर्दै छु ।

11 जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्‍ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन ।

12 परमेश्‍वरले भन्‍नुभयो, “पुस्तौँको निम्ति मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीसित मैले जुन करार बाँध्दै छु, त्यसको चिन्ह यही हुन्छ

13 कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ ।

14 मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ

15 तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन ।

16 परमेश्‍वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।”

17 तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मेरो र पृथ्वीमा भएका सबै जीवित प्राणीको बिचमा मैले स्थापित गरेको करारको चिन्ह यही हो ।”

18 जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।

19 यी तिन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो ।

20 नोआ किसान हुन लागे, र तिनले दाखबारी लगाए ।

21 दाखमद्य पिएर तिनी मात्तिए । तिनी आफ्नो पालमा नाङ्गै पल्टिरहेका थिए ।

22 तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए ।

23 त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।

24 नोआ आफ्नो मद्यको लतबाट उठेपछि तिनका कान्छा छोराले तिनलाई के गरेका थिए भनी तिनलाई थाहा भयो ।

25 त्यसैले तिनले भने, “श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।”

26 तिनले यसो पनि भने, “शेमका परमेश्‍वर यहोवे धन्यका होऊन्, र कनान त्यसको कमारो होस् ।

27 परमेश्‍वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस् र त्यसले शेमका पालहरूमा बास गरून् । कनान त्यसका कमारा होस् ।”

28 जलप्रलयपछि नोआ तिन सय पचास वर्ष बाँचे ।

29 नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे

Everything we make is available for free because of a generous community of supporters.

Donate