Menu

अय्यूब 16

ULB

1 तब अय्यूबले जवाफ दिए र भने,

2 “धेरै यस्ता कुराहरू मैले सुनेको छु । सान्‍वना दिने तपाईंहरू सबैले दुःख दिनुहुन्छ ।

3 के व्यर्थका शब्दहरू कहिल्यै अन्त्य हुन्‍छन् कि ? तपाईंहरूलाई के भयो जसले गर्दा तपाईंहरू यसरी जवाफ दिनुहुन्छ ?

4 तपाईंहरू ठाउँमा हुनुहुन्‍थ्‍यो भने, तपाईंहरूले बोलेझैं म पनि बोल्‍न सक्‍थें, तपाईंहरूको विरुद्धमा शब्दहरू जम्मा गर्न र मिलाउन सक्थें, र गिल्ला गर्दै मेरो शिर हल्लाउन सक्थें ।

5 मेरो मुखले तपाईंहरूलाई बलियो पार्थें, र मेरो ओठको बरबरले तपाईंहरूलाई राहत ल्याउँथें ।

6 मैले बोल्‍दा त मेरो शोक कम हुँदैन । मैले बोल्न छाडें भने मलाई कसरी मदत हुन्छ ?

7 तर हे परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ । तपाईंले मेरा सबै परिवारलाई सर्वनाश पार्नुभएको छ ।

8 तपाईंले मलाई सुक्खा पार्नुभएको छ, जसले मेरो विरुद्धमा साक्षी दिन्‍छ । मेरो शरीरको दुब्लोपन मेरो विरुद्धमा खडा हुन्छ, र यसले मेरो अनुहारको विरुद्धमा साक्षी दिन्छ ।

9 परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।

10 मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन् । निन्दाले भरिएर तिनीहरूले मलाई गालामा थप्‍पड हानेका छन् । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्।

11 परमेश्‍वरले मलाई ईश्‍वरहीन मानिसहरूका हातमा दिनुहुन्छ, र मलाई दुष्‍ट मानिसहरूका हातमा फाल्‍नुहुन्छ ।

12 म चैनमा थिएँ, अनि उहाँले मलाई लुछ्नुभयो । वास्तवमा, उहाँले मलाई गलहत्त्‍याउनुभएको र टुक्रा-टुक्रा पार्नुभएको छ । उहाँले मलाई आफ्नो निसाना पनि बनाउनुभएको छ ।

13 उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्‍छन् । परमेश्‍वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्‍नुहुन्‍न । उहाँले मेरो पित्त भुइँमा पोख्‍नुहुन्छ ।

14 उहाँले बारम्बार मेरो भित्तामा हिर्काउनुहुन्छ । एक जना लडाकुले झैं उहाँले मलाई झम्‍टिनुहुन्छ ।

15 आफ्‍नो शरीर ढाक्‍नलाई मैले भाङ्ग्रा सिएको छु । मैले आफ्‍नो टाउकोलाई भुइँमा गाडेको छु ।

16 रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ । मेरो आँखाको वरिपरि मृत्युको छाया छ,

17 जबकि मेरा हातमा कुनै हिंसा छैन र मेरो प्रार्थना शुद्ध छ ।

18 ए पृथ्वी, मेरो रगतलाई नछोप । मेरो रोदनले विश्राम नपाओस् ।

19 अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ । मलाई स्‍याबासी दिनुहुने उच्‍चमा हुनुहुन्छ ।

20 मेरा मित्रहरूले मलाई खिसी गर्छन्, तर मेरो आँखाले परमेश्‍वरमा आँसु बगाउँछ ।

21 मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्‍वरसित बहस गरिदिन म बिन्‍ती गर्छु ।

22 किनकि जब केही वर्ष बितेर जान्‍छ, तब म त्यस्तो ठाउँमा जानेछु, जहाँबाट म फर्कनेछैनँ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate