Menu

अय्यूब 17

ULB

1 मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ ।

2 निश्‍चय नै गिल्ला गर्नेहरू मसितै छन् । मेरो आँखाले सधैं तिनीहरूको रिसलाई हेर्नुपर्छ ।

3 मलाई धरौटी दिनुहोस् । तपाईं आफै मेरो जमानी हुनुहोस् । मलाई मदत गर्नलाई अरू को नै छ र ?

4 किनकि हे परमेश्‍वर, तपाईंले तिनीहरूका हृदयको समझलाई बन्द गर्नुभएको छ । त्यसकारण तपाईंले तिनीहरूलाई मभन्दा माथि उचाल्नुहुन्‍न ।

5 इनामको लागि जसले आफ्नो मित्रहरूको बदनामी गर्छ, त्यसका छोराछोरीका आँखा कमजोर हुनेछन् ।

6 तर उहाँले मलाई मानिसहरूको उखान बनाउनुभएको छ । तिनीहरूले मेरो मुखैमा थुक्छन् ।

7 शोकको कारण मेरो आँखा पनि धमिलो भएको छ । मेरो शरीरका सम्पूर्ण भाग छायाजत्तिकै सुकेका छन् ।

8 यसले सोझा मानिसहरूलाई अलमलमा पार्नेछन् । निर्दोष मानिसले आफैलाई ईश्‍वरहीन मानिसहरूको विरुद्धमा सुर्‍याउनेछ ।

9 धर्मी मानिस आफ्नो बाटोमा हिंड्नेछ । शुद्ध हात भएकोचाहिं बलियो हुँदै जानेछ ।

10 तर तिमीहरू सबैले चाहिं फेरि कोसिस गर । तिमीहरूका बिचमा बुद्धिमान् मानिस मैले पाउनेछैनँ ।

11 मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्‍यस्‍तै भयो ।

12 यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्‍छन् । उज्यालो अँध्यारको नजिकै छ ।

13 मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने,

14 र मैले खाडललाई, 'तँ मेरो बुबा हो,' अनि किरालाई 'तँ मेरी आमा वा बहिनी' हो भनेको छु भने,

15 तब मेरो आशा खोइ त ? कसले मेरो निम्ति कुनै आशा देख्‍न सक्‍छ र ?

16 जब हामी धूलोमा फर्कन्‍छौं, तब के मसँगै आशा पनि पातालका ढोकाहरूमा जानेछ र ?

Everything we make is available for free because of a generous community of supporters.

Donate