Menu

हितोपदेश 22

ULB

1 धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदीभन्दा उत्तम हो ।

2 धनी र गरिब यस कुरामा समान छन्, कि दुवैका सृष्‍टिकर्ता परमेश्‍वर हुनुहुन्छ ।

3 विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।

4 विनम्रता र परमप्रभुको भयको इनाम धन-सम्पत्ति, मान र जीवन हुन् ।

5 टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्‍ने छन् ।

6 बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।

7 धनी मानिसहरूले गरिब मानिसहरूमाथि शासन गर्छन्, र सापट लिनेचाहिँ सापट दिनेको दास बन्छ ।

8 अन्याय छर्नेले सङ्कष्‍टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ ।

9 उदार दृष्‍टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ ।

10 खिल्ली उडाउनेलाई बाहिर निकाल्, र द्वन्द्व हटेर जान्छ अनि वादविवाद र अपमान लोप हुने छन् ।

11 शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुने छ ।

12 परमप्रभुको दृष्‍टिले ज्ञानमाथि नजर लगाइरहन्छ, तर उहाँले विश्‍वासघातीका वचनहरूलाई मिल्काइदिनुहुन्छ ।

13 अल्छे मानिसले भन्छ, “बाटोमा एउटा सिंह छ । मलाई खुला ठाउँहरूमा मारिने छ ।”

14 व्यभिचारी स्‍त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्‍नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।

15 बच्‍चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।

16 आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।

17 आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।

18 किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।

19 तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु ।

20 के मैले तेरो लागि अर्ती र ज्ञानका तिसवटा नीति-वचन लेखिदिएको छैनँ र ?

21 तँकहाँ पठाइएकाहरूलाई तैँले भरोसायोग्य जवाफहरू दिन सक् भनेर मैले तँलाई यी भरोसायोग्य वचनहरू सिकाएको होइनँ र ?

22 गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,

23 किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।

24 रिसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र नबना, र क्रोधित मानिससित सङ्गत नगर् ।

25 नत्रता तैँले त्यसका मार्गहरू सिक्‍ने छस्, र तेरो प्राण पासोमा पर्ने छ ।

26 धितोमा आफ्नो हात नहाल् वा अर्काको ऋणको जमानी नबस् ।

27 तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्‍न सक्छ ?

28 तेरा पिता-पुर्खाहरूले खडा गरेका प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा ।

29 के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस् ? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।

Everything we make is available for free because of a generous community of supporters.

Donate