Menu

हितोपदेश 23

ULB

1 तँ खानलाई शासकसित बस्दा तेरो सामु राखिएको खानेकुरालाई होसियारीपूर्वक अवलोकन गर् ।

2 तँ धेरै खाने खन्चुवा हो भने तेरो घाँटीमा चक्‍कु राख् ।

3 तिनको स्वादिष्‍ट खानेकुराको लालसा नगर्, किनकि यो झुटको खाना हो ।

4 धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् ।

5 के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस् ? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।

6 दुष्‍ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्‍ट खानेकुराको लालसा नगर् ।

7 किनकि त्यो भोजनको मूल्य गिन्ती गर्ने मानिस हो । त्यसले भन्छ, “खाऊ र पिऊ ।” तर त्यसको हृदय तँसित हुँदैन ।

8 तैँले खाएको थोरै खानेकुरा पनि तैँले बान्ता गर्ने छस्, र तैँले तेरो तारिफलाई त्यसै खेर जान दिनेछस् ।

9 मूर्खले सुन्‍ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्‍ने छ ।

10 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा वा अनाथहरूको खेतबारी नमिच् ।

11 किनभने तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ, र उहाँले तेरो विरुद्धमा तिनीहरूको मुद्दा लड्नुहुने छ ।

12 तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा ।

13 बच्‍चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्ने छैन ।

14 त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् ।

15 हे मेरो छोरो, तेरो हृदय बुद्धिमानी छ भने मेरो हृदय पनि प्रसन्‍न हुने छ ।

16 तेरो ओठले जे ठिक छ, त्यही बोल्दा मेरो अन्तस्करण रमाउने छ ।

17 तेरो हृदयलाई पापीहरूको ईर्ष्या गर्न नदे, तर दिनैभरि परमप्रभुको भयमा लागिराख् ।

18 निश्‍चय नै एउटा भविष्य छ, र तेरो आशा निराश हुने छैन ।

19 हे मेरो छोरो, सुन् र बुद्धिमान् हो, अनि तेरो हृदयलाई सुमार्गमा लगा ।

20 मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्,

21 किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ ।

22 तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।

23 सत्यलाई किन्, र त्यसलाई नबेच् । बुद्धि, अर्ती र समझशक्तिलाई किन् ।

24 धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्‍न हुने छ ।

25 तेरा बुबा र आमा प्रसन्‍न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् ।

26 हे मेरो छोरो, मलाई तेरो हृदय दे, र तेरा आँखाले मेरा मार्गहरू हेरून् ।

27 किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्‍त्री एउटा साँघुरो इनार हो ।

28 त्यो चोरझैँ ढुकिबस्छे, र त्यसले मानिसहरूका बिचमा विश्‍वासघातीहरूको सङ्ख्या बढाउँछे ।

29 कोसित कष्‍ट छ ? कोसित शोक छ ? कोसित कलह छ ? कोसित गुनासो छ ? कोसित विनाकारण चोट छ ? कसका आँखा राताराता छन् ?

30 तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन् ।

31 मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर् ।

32 अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ ।

33 तेरा आँखाहरूले अनौठा कुराहरू देख्‍ने छन्, र तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन् ।

34 तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तुलको डोरीको मास्तिर बस्‍नेझैँ हुने छ ।

35 तैँले भन्‍ने छस्, “तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन ।” तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन । म कहिले ब्युँझने छु ? म अर्को चुस्की खोज्ने छु ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate