Menu

हितोपदेश 24

ULB

1 खराब मानिसहरूको लालच नगर्, न त तिनीहरूसित सङ्गत गर्ने चाहना राख् ।

2 किनभने तिनीहरूको हृदयले हिंसाको षड्यन्त्र रच्छ, र तिनीहरूको ओठले कष्‍टबारे कुराकानी गर्छ ।

3 बुद्धिद्वारा घर निर्माण गरिन्छ, र समझशक्तिद्वारा यसलाई स्थापित गरिन्छ ।

4 ज्ञानद्वारा सारा बहुमूल्य र उत्कृष्‍ट थोकहरूले कोठाहरू भरिन्छन् ।

5 बुद्धिमान् योद्धा बलियो हुन्छ, र ज्ञानी मानिसले आफ्नो शक्ति बढाउँछ ।

6 किनभने बुद्धिमानी निर्देशनद्वारा तैँले आफ्नो युद्ध लड्न सक्छस्, र धेरै परामर्शदाताहरूद्वारा विजय हासिल गरिन्छ ।

7 मूर्खको लागि बुद्धि अति उच्‍च हुन्छ । ढोकामा त्यसले आफ्नो मुख खोल्दैन ।

8 खराबी गर्न योजनाहरू बनाउने एउटा छ जसलाई मानिसहरू “षड्यन्त्रकारीको गुरु” भन्छन् ।

9 मूर्ख योजना पाप हो, र मानिसहरूले खिल्ली उडाउनेलाई तुच्छ ठान्छन् ।

10 कष्‍टको दिनमा तँ डरले कमजोर भइस् भने तेरो शक्ति क्षीण हुने छ ।

11 मृत्युको लागि लगिँदै गरेकाहरूलाई छुटकारा दे, र मारिनका लागि ढुनमुनिएकाहरूलाई बचा ।

12 “हामीलाई यस विषयमा केही थाहा थिएन,” भनी तैँले भनिस् भने के हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्‍न र ? तेरो जीवनको रखवाली गर्नुहुनेलाई के यो कुरा थाहा छैन र ? के परमेश्‍वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्‍न र ?

13 हे मेरो छोरो, मह खा, किनकि यो गुलियो हुन्छ, किनकि महको चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ ।

14 तेरो प्राणको लागि बुद्धि यही होः तैँले यसलाई भेट्टाइस् भने तेरो भविष्य सुन्दर हुने छ, र तेरो आशा निराश हुने छैन ।

15 धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्‍ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का ।

16 किनकि धर्मात्मा सात पटक लोट्छ र फेरि उठ्छ, तर दुष्‍ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन् ।

17 तेरो शत्रुको पतन हुँदा उत्सव नमना, र त्यसले ठक्‍कर खाँदा तेरो हृदयलाई प्रसन्‍न हुन नदे ।

18 नत्रता परमप्रभुले देख्‍नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।

19 खराबी गर्नेहरूको कारण चिन्ता नमान्, र दुष्‍ट मानिसहरूको ईर्ष्या नगर् ।

20 किनभने दुष्‍ट मानिसको कुनै भविष्य छैन, र दुष्‍ट मानिसको बत्ती निभाइने छ ।

21 हे मेरो छोरो, परमप्रभुको भय मान्, र राजादेखि डरा । तिनीहरूको विरुद्धमा लाग्‍नेहरूको सङ्गत नगर् ।

22 किनभने उहाँहरूको विपत्ति अकस्मात आइपर्ने छ, र उहाँहरू दुवैबाट आउने विनाशको मात्रा कसलाई थाहा छ र ?

23 यी पनि बुद्धिमान्‌का नीति-वचनहरू हुन् । मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन ।

24 दुष्‍ट मानिसलाई “तिमी धर्मात्मा हौ,” भनी भन्‍ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ ।

25 तर दुष्‍टलाई अनुशासनमा राख्‍नेहरू आनन्दित हुने छन्, र तिनीहरूमा भलाइका उपहारहरू आउने छन् ।

26 इमानदार जवाफ दिनेले ओठमा चुम्बन दिन्छ ।

27 तेरो बाहिरको काम तयार गर्, र खेतबारीमा गरिने हरेक काम तँ आफैले तयार राख् । त्यसपछि तेरो घर बना ।

28 विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर् ।

29 यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु । त्यसले मलाई गरेको साटो म लिने छु ।”

30 म अल्छे मानिसको खेतनेरबाट गएँ, बेसमझ मानिसको दाखबारीबाट भएर गएँ ।

31 जताततै काँढाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकिएको थियो, र यसको ढुङ्गाको पर्खाल तोडिएको थियो ।

32 तब मैले देखेका कुरामा मैले विचार गरेँ । मैले हेरेँ र अर्ती प्राप्‍त गरेँ ।

33 क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले

34 गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate